Logo
२८ वैशाख २०८३, सोमबार

सहकारी सुधार र पारदर्शिताको एजेन्डासहित नवजीवन सहकारीमा मिश्र समूह मैदानमा

अक्षरपाटी
२०८३ वैशाख २८ , सोमबार १०:०५ मा प्रकाशित

कैलाली । नवजीवन सहकारी संस्था लिमिटेड को आगामी निर्वाचनलाई लक्षित गर्दै केशव राज मिश्र नेतृत्वको समूहले १६ बुँदे प्रतिबद्धतासहित आफ्नो प्यानल सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धतामा सहकारीलाई थप पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने योजना अघि सारिएको छ ।

सञ्चालक समितिको अध्यक्ष पदका उम्मेदवार केशव राज मिश्र ले नवजीवनलाई देशकै नमुना सहकारीका रूपमा विकास गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताए । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका विकृति र समस्यालाई उल्लेख गर्दै उनले सक्षम, इमानदार र दूरदर्शी नेतृत्व आवश्यक रहेको धारणा राखे ।

“सदस्यको विश्वास जोगाउँदै नवजीवनलाई अझ व्यवस्थित, सुरक्षित र उत्पादनमुखी सहकारीका रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता छ,” मिश्रले भने ।

मिश्र समूहले सार्वजनिक गरेको प्रतिबद्धतामा सहकारी शिक्षा तथा सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउने, खराब कर्जा व्यवस्थापनका लागि विशेष समिति गठन गर्ने तथा सहकारीमार्फत गरिने सम्पत्ति खरिद प्रक्रियाको समीक्षा गर्ने योजना समावेश गरिएको छ ।

त्यस्तै, ‘एक घर, एक सदस्य’ अवधारणा लागू गर्ने, निष्क्रियभन्दा सक्रिय सदस्यलाई प्राथमिकतामा राख्ने तथा कर्मचारी भर्ना र तहवृद्धिलाई पूर्ण पारदर्शी बनाउने प्रतिबद्धता पनि समूहले जनाएको छ ।

समूहले सेवाग्राहीसँगको व्यवहारलाई थप मर्यादित र सदस्यमैत्री बनाउने, शेयर सदस्यलाई उत्पादनसँग जोड्ने तथा नवजीवनलाई उत्पादनमुखी सहकारीको नमूनाका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेको छ ।

यसैगरी, सबै कार्यालयमा सहकारी सहजकर्तासहितको हेल्प डेस्क स्थापना गर्ने, सदस्यहरूको उपचार खर्चमा सहयोग वृद्धि गर्ने तथा मल र बीउको अभाव समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।

२३औँ चुनावी वार्षिक साधारणसभालाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिबद्धताले सहकारी सुधार, सुशासन र सदस्यहितलाई मुख्य प्राथमिकतामा राखेको मिश्र समूहको दाबी छ ।

केशव राज मिश्र नवजीवन सहकारी संस्था लिमिटेड