



काठमाडौं । देखेको सपना दमित हुनसक्छ तर हराउँदैन ! ‘मकै बारी दर्याम दर्याम’ बोलको चर्चित गीतकी गायिका सुस्मा शाही ठकुरीको सपना पनि केही वर्ष थन्कियो तर पुरा गरेरै छाडिन्।
कलिलै उमेरमा विवाह, परिवारको जिम्मेवारी र बदलिँदो परिस्थितिका कारण उनले २०६९ सालमा एसएलसी परीक्षा दिन पाइनन्। उनको पढाइको यात्रा त्यतै राेकियो, तर पढ्ने रहर मरेन।
उनले जीवनका कैयाैँ रात परीक्षा दिएको सपना भने देखिरहिन्। जसले उनलाई सँधै भावुक बनाइरह्यो। उनको चाहना थियो- ‘एक दिन परीक्षा दिएरै देखाउने।’
जीवनका कैयाैँ मोडहरुले उनको चाहना मेटाउन सकेन। बरु पारिवारिक र सांगीतिक जिम्मेवारी पुरा गर्दै उनले फेरि किताब समात्ने साहस गरिन् र १४ वर्षपछि पुनः अध्ययन सुरु गरिन्।
काठमाडौंको चाबहिलस्थित सगरमाथा स्कुलमा पढेकी उनले कपनस्थित दीक्षालय स्कुल केन्द्रबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइन्।
र हालै आएको परीक्षा फलमा उनले ३ दशमलव २५ जीपीए ल्याएर उत्तिर्ण भइन्।
उनका लागि नतिजा प्राप्त गरेको अंक मात्र होइन, वर्षौंदेखि साचेर राखेकाे सपना साकार भएको क्षण र आत्मविश्वासको फल हो।
उनको सफलताले धेरै महिला, गृहिणी र कुनै कारणले पढाइ छोड्न बाध्य भएकाहरूलाई सन्देश दिएको छ- ढिलो हुन सक्छ, तर सपना पूरा हुन असम्भव भने छैन।
मकै बारी दर्याम दर्याम सुस्मा शाही ठकुरी



