Logo
१३ मंसीर २०८३, आईतबार

मुसहर बस्तीमै पुगिन् मन्त्री रावल, भूमिहीनका समस्या समाधान गर्ने प्रतिबद्धता

अक्षरपाटी
२०८३ मंसीर १२ , शनिबार ११:११ मा प्रकाशित

सप्तरी । भूमिहीन नागरिकका समस्या बुझ्न मन्त्री प्रतिभा रावल सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित मुसहर बस्तीमै पुगेकी छन्।

उनले बस्तीका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएकी हुन्।

स्थानीयसँगको अन्तरक्रियाका क्रममा मन्त्री रावलले लामो समयदेखि भूमिहीनका रूपमा जीवन बिताइरहेका नागरिकका समस्या समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराइन्।

उनले सरकारले अघि बढाइरहेको प्रक्रिया र आगामी कार्ययोजनाबारे समेत स्थानीयलाई अवगत गराइन्।

मन्त्री रावलले वास्तविक भूमिहीन नागरिकको समस्या पहिचान गरी समाधान गर्ने तथा लालपुर्जा वितरण प्रक्रियालाई थप तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

उनले भूमिहीन नागरिकलाई जमिनको स्वामित्व दिलाउने विषयलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाइने बताइन्।

मुसहर बस्तीका नागरिकले आफूहरूले भोग्दै आएका समस्या र लालपुर्जा प्राप्तिमा देखिएका कठिनाइबारे मन्त्री रावलसमक्ष गुनासा राखेका थिए।

मन्त्री रावलले नागरिकबाट प्राप्त सुझाव र गुनासालाई सम्बन्धित निकायमार्फत समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री प्रतिभा रावल