Logo
७ जेठ २०८३, बिहीबार

हुम्ला–बाजुरा तनावबारे संसदमा आवाज, तत्काल समाधानको माग

अक्षरपाटी
२०८३ जेठ ७ , बिहीबार ०१:०५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीच देखिएको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण, बिरामी, विद्यार्थी तथा अत्यावश्यक काममा हिँडेका नागरिक प्रभावित बनेको भन्दै सांसदहरूले संवाद र वार्तामार्फत समस्या समाधान गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले हुम्ला–बाजुरा सीमा विवादले कर्णाली राजमार्ग अवरुद्ध भएको उल्लेख गर्दै सरकारलाई तत्काल पहल गर्न आग्रह गरे । उनले राजमार्ग बन्द हुँदा बिरामी, परीक्षा दिन जाने विद्यार्थी तथा दैनिक आवतजावत गर्ने नागरिकले सास्ती भोग्नुपरेको बताए ।

यस्तै, सांसद केपी खनालले हुम्ला र बाजुराको रानीसिंह क्षेत्रको सीमा विवादका क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको टोलीमाथि दुर्व्यवहार भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले साइपाल क्षेत्र जडीबुटी तथा वन्यजन्तुको महत्वपूर्ण भण्डार भएकाले वर्षौंदेखि भइरहेको अवैध तस्करी नियन्त्रण गर्न प्रहरी चौकी स्थापना गर्ने प्रयासका क्रममा विवाद चर्किएको बताए ।

खनालले स्थानीय नागरिकको सुरक्षा तथा झडपमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

सांसद जनकराज गिरीले पनि जेठ ४ गते हुम्ला र बाजुराको हिमाली गाउँपालिका–३ क्षेत्रमा प्रहरी सहायक निरीक्षक महेश धामी र प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही र सीमा विवादको स्थायी समाधान गर्न माग गरे ।

सीमा विवादका कारण पछिल्ला दिनमा दुई जिल्लाबीच तनाव बढ्दै गएको छ । सांसदहरूले संवाद र सहमतिमार्फत विवाद समाधान गरी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

सीमा विवाद हुम्ला–बाजुरा तनाव

ट्रेन्डिङ ( साप्ताहिक )