Logo
१९ जेठ २०८३, मंगलबार

भारत भ्रमणमा रविलाई भाजपाको स्वागत, आजै गृहमन्त्री शाहसँग महत्वपूर्ण भेट

अक्षरपाटी
२०८३ जेठ १९ , मंगलबार ०३:०६ मा प्रकाशित

काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भारतीय जनता पार्टी (भाजपा)ले औपचारिक स्वागत गरेको छ।

भ्रमणमा रहेको टोलीलाई नयाँ दिल्लीस्थित भाजपा केन्द्रीय कार्यालयमा पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा सभापति लामिछानेले नेपालको धार्मिक तथा सांस्कृतिक पहिचान झल्किने पशुपतिनाथ मन्दिरबाट ल्याइएको रुद्राक्ष, तुलसीको माला तथा टीका उपहारस्वरूप प्रदान गरेका थिए।

सो भेटघाटलाई दुई देशका प्रमुख राजनीतिक दलहरूबीच सम्बन्ध विस्तार र आपसी समझदारी अभिवृद्धि गर्ने अवसरका रूपमा हेरिएको छ।

भारत भ्रमणका क्रममा आज लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमण दलका एक सदस्यका अनुसार उक्त भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, साझा हितका विषय, लोकतान्त्रिक अभ्यासको आदानप्रदान, सीमा सुरक्षा, क्षेत्रीय सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा छलफल हुने अपेक्षा छ।

रास्वपाले आफ्नो भ्रमणलाई नेपाल र भारतबीचको जनस्तर तथा राजनीतिक तहको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

पछिल्ला वर्षहरूमा नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा भएका छलफल तथा सहकार्यका विषयलाई समेत भेटवार्तामा उठाइने बताइएको छ।

सभापति लामिछानेको नेतृत्वमा भएको यो भ्रमणलाई रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा छिमेकी मुलुकसँगको राजनीतिक संवादलाई संस्थागत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।

भाजपा भारत भ्रमण रवि लामिछाने

ट्रेन्डिङ ( साप्ताहिक )