Logo
५ असार २०८३, शुक्रबार

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

अक्षरपाटी
२०८३ असार ३ , बुधबार १२:०६ मा प्रकाशित

काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित वा गैर–योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख छ।

कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचय पत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरण अनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीहरूलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने कार्य गर्नेछ।

साथै, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधाहरू कोषको नियम अनुसार पाउनु हुनेछ ।

सम्झौता अनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम र बहाल रहेका कर्जा समेतलाई कोषमा रकमान्तर गरी समायोजन गरिने पनि सम्झौतामा उल्लेख छ।