Logo
३ साउन २०८३, आईतबार

बक्यौता नतिर्ने उद्योगमाथि सरकारको एक्सन : ६३ उद्योगको बिजुली–पानी काटियो

अक्षरपाटी
२०८३ असार ४ , बिहीबार १२:०६ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि भाडा तथा विभिन्न महसुल नतिर्ने उद्योगमाथि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कडा कारबाही थालेको छ। कारबाहीको पहिलो दिन बुधबार देशभरका १० औद्योगिक क्षेत्रभित्र सञ्चालित ६३ उद्योगको बिजुली र पानीको लाइन काटिएको छ।

लिमिटेडका अनुसार सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गर्दै आएका उद्योगहरूले पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि लाइन काट्ने निर्णय कार्यान्वयन गरिएको हो।

कारबाही सुरु भएकै दिन उद्योगहरूबाट करिब १० करोड रुपैयाँ बक्यौता असुल भएको छ। बक्यौता रकम बुझाएपछि ८ उद्योगको विद्युत् तथा पानी सेवा पुनः जडान गरिएको लिमिटेडले जनाएको छ।

सबैभन्दा बढी बालाजु औद्योगिक क्षेत्रका २४ उद्योग कारबाहीमा परेका छन्। त्यस्तै हेटौंडाका १३, पाटनका ७, पोखराका ५, बुटवलका ४, भक्तपुरका ४, तथा नेपालगञ्ज, धरान र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका उद्योगहरूको पनि लाइन काटिएको छ।

लाइन काटिएपछि बक्यौता रकम तिर्न आएका बालाजुका ४, पाटनका २, पोखराका १ र नेपालगञ्जका १ उद्योग गरी ८ उद्योगको सेवा तत्काल पुनः सञ्चालन गरिएको छ।

लिमिटेडका अनुसार कुल ६३ उद्योगमध्ये ८ उद्योगले बक्यौता चुक्ता गरेपछि हाल ५५ उद्योगको बिजुली तथा पानी सेवा अझै अवरुद्ध रहेको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता नतिर्ने अन्य उद्योगमाथि पनि कारबाही जारी रहने जनाएको छ। बिहीबार पनि विभिन्न औद्योगिक क्षेत्रका उद्योगहरूको लाइन काट्ने कार्य निरन्तर रहेको लिमिटेडले जानकारी दिएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड