


काठमाडौं । पछिल्लो तीन दिनको अवधिमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा गरी तीन जनाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
यी शृङ्खलाबद्ध घटनाहरूले समाजमा गम्भीर प्रश्नहरू खडा गर्नुका साथै मानसिक स्वास्थ्यको विषयलाई लिएर चिन्ता बढाएका छन्। पछिल्ला यी तीन घटनामध्ये एक जनाले ज्यान गुमाएका छन् भने दुई जनाको अवस्था निकै गम्भीर रहेको छ।
आत्मदाहको प्रयासको पछिल्लो घटना आज शनिबार बिहान काठमाडौंको बुद्धनगरमा भएको छ। ४५ वर्षीय आश्विन राउतले बिहान अन्दाजी सवा ६ बजे आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
काठमाडौं प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले घटनाको जानकारी पाउनासाथ प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको जानकारी दिए। चिकित्सकका अनुसार राउतको शरीरको ५० प्रतिशत भाग जलेको छ र उनको अवस्था गम्भीर छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राउत श्रीमती र छोरासँग उक्त घरमा बस्दै आएको खुलेको छ। घटना हुँदा उनीहरू घरमा नभएको पाइएको छ।
प्रहरी प्रवक्ता भट्टराईले आत्मदाहको प्रयासको स्पष्ट कारण हालसम्म नखुलेको बताउँदै भने, “घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। छिमेकीका अनुसार हिजो शुक्रबार घाइते राउतको छोरासँग केही विषयमा विवाद भएको बुझिन आएको छ, यसैलाई आधार मानेर थप अनुसन्धान अघि बढाएका छौँ।”
पछिल्लो तीन दिनमा भएका यस्ता तीनवटा घटनाले आम मानिसमा तरङ्ग पैदा गरेको छ। यसअघि भएका दुईवटा घटनामध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ भने अर्का एक जनाको अस्पतालमा सघन उपचार भइरहेको छ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले शुक्रबार वीर अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका थिए।
मृतक गणेश नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ (पेट्रोल) खन्याएर आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी उनलाई तत्कालै उपचारका लागि वीर अस्पतालको बर्न वार्डमा भर्ना गरिएको थियो।
अस्पतालका अनुसार उनको शरीरको अधिकांश भाग (करिब ८०/९० प्रतिशतभन्दा बढी) जलिसकेकाले अवस्था निकै गम्भीर थियो। चिकित्सकहरूको अथक प्रयासका बाबजुद शुक्रबार उनले अन्तिम सास फेरेका थिए।
यस्तै सर्लाहीको गोडैता नगरपालिकामा शुक्रबार एक युवकले आत्मदाहको प्रयास गरेका थिए। गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।
मण्डलले आफ्नो घरबाट करिब २ सय मिटर टाढा गएर शरीरमा आगो लगाएका थिए। मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको शरीरको अधिकांश भाग जलिसकेको छ।
छोटो समयको अन्तरालमा भएका यी विभत्स घटनाहरूले मानिसमा बढ्दो मानसिक तनाव, चरम निराशा, पारिवारिक कलह र आर्थिक दबाबलाई उजागर गरेका छन्।
मनोचिकित्सकहरूका अनुसार, आत्मदाहको प्रयास गर्नु भनेको चरम मानसिक पीडा र विकल्पविहीनताको पराकाष्ठा हो। यस्ता घटनाहरू प्रायः आवेगमा आएर वा लामो समयदेखिको मानसिक दबाब थेग्न नसक्दा घट्ने गर्दछन्। समाजमा बढ्दै गएको यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न राज्य, परिवार र समुदायले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ। हाल प्रहरीले यी तीनवटै घटनाहरूको छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।


