


धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित जंगलमा च्याउ खोज्न गएका १४ जना महिला आइतबारदेखि सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि प्रहरीले व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९, दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएका थिए।
प्रहरीका अनुसार उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्ट हुँदै जंगल प्रवेश गरेका थिए। च्याउ खोज्ने क्रममा उनीहरू ९ जना र ५ जनाको दुई समूहमा विभाजन भएर जंगलभित्र गएको जनाइएको छ।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
डीएसपी रावतका अनुसार उनीहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरी, निकुञ्ज प्रशासन तथा सम्बन्धित निकायको समन्वयमा खोजी कार्य तीव्र पारिएको छ।
प्रहरीले खोजी अभियान जारी रहेको र थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ।
महिला सम्पर्कविहीन

