


काठमाडौं, ४ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रमुख मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा भएको बैठक अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा भएको हो।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरू सहभागीता छ।
बैठकमा पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, बालबालिका तथा सामाजिक कल्याण, गृह तथा रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश भएका कार्यक्रम तथा आयोजनाहरूको प्रभावकारी कार्यान्वयन, मन्त्रालयबीच समन्वय, बजेट खर्चको गति बढाउने उपाय, विकास आयोजनाको प्रगति तथा कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौतीहरूको समाधानका विषयमा छलफल भइरहेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटलाई नतिजामुखी, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यसहित मन्त्रालयगत तयारीलाई तीव्र बनाएको जनाएको छ।
बैठकबाट बजेट कार्यान्वयनका लागि आवश्यक समन्वय, जिम्मेवारी बाँडफाँट र कार्ययोजनालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।


