Logo
५ साउन २०८३, मंगलबार

सेज भित्र सञ्चालित उद्योगले भाडा नतिरे एक साताभित्र बिजुली–पानी काटिने

अक्षरपाटी
२०८३ साउन ४ , सोमबार ०६:०७ मा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखि उठ्न बाँकी रहेको भाडा असुली प्रक्रिया तीव्र पारेको छ।

सरकारले बक्यौता तिर्न बाँकी उद्योगहरूलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन अन्तिम निर्देशन दिएको छ। तोकिएको समयभित्र भाडा नतिरे सम्बन्धित उद्योगको बिजुली र खानेपानी सेवा काटिने चेतावनी समेत दिइएको छ।

सेज प्राधिकरणले विभिन्न विशेष आर्थिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको भाडा, सेवा शुल्क तथा अन्य देय रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली गर्न मन्त्री गाैरी कुमारी यादवले निर्देशन दिएकी हुन्।

मन्त्री यादवले सरकारी सम्पत्ति प्रयोग गरेर वर्षौंदेखि भाडा नतिर्ने उद्योगलाई अब कुनै पनि बहानामा छुट नदिन निर्देशन दिएपछि सोहि अनुसारन भाडा उठाउन सम्बन्धित निकायले पत्र समेत काटेको छ।

प्राधिकरणले तयार गरेको बक्यौता विवरणअनुसार केही उद्योगले नियमित रूपमा भाडा तिरे पनि धेरै उद्योगले लामो समयदेखि भाडा नतिरेका कारण करोडौं रुपैयाँ सरकारी रकम उठ्न बाँकी रहेको देखिएको छ। कतिपय उद्योगले आंशिक रकम बुझाएका छन् भने कतिपयले सम्झौता अनुसारको भाडासमेत नतिरेको उल्लेख गरिएको छ।

प्राप्त विवरणअनुसार पहिलो सूचीमा रहेका उद्योगहरूको उठ्न बाँकी बक्यौता करिब १ करोड ७७ लाख ६८ हजार ४ सय ३८ रुपैयाँ ९० पैसा छ। त्यस्तै दोस्रो सूचीमा रहेका उद्योगहरूको बाँकी बक्यौता करिब १६ लाख ९४ हजार ७ सय ८६ रुपैयाँ १७ पैसा रहेको देखिन्छ। दुवै सूची जोड्दा कुल बक्यौता करिब १ करोड ९४ लाख ६३ हजार रुपैयाँभन्दा बढी पुगेको छ।

त्यसैगरी प्राधिकरणले हालसम्म ठूलो परिमाणमा रकम असुलीसमेत गरिसकेको जनाएको छ। पहिलो सूचीअनुसार ६ करोड १४ लाख ५८ हजार २५९ रुपैयाँ १२ पैसा असुली भएको छ भने दोस्रो सूचीअनुसार ९ करोड ९५ लाख ९२ हजार ४९२ रुपैयाँ ४१ पैसा असुल गरिएको छ। दुवै सूचीमा गरी १६ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको विवरणमा उल्लेख छ।

सेज व्यवस्थापनका अनुसार सम्बन्धित उद्योगहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा भाडा तिर्न आग्रह गरिए पनि अपेक्षित रूपमा रकम नआएपछि अब कानुनी प्रक्रिया अघि बढाइएको हो।

मन्त्री गौरी यादव विशेष आर्थिक क्षेत्र