Logo
५ साउन २०८३, मंगलबार

मदन पुरस्कार–२०८२ : अन्तिम प्रतिस्पर्धामा १० पुस्तक, को-को परे उत्कृष्ट सूचीमा ?

अक्षरपाटी
२०८३ साउन ४ , सोमबार १०:०७ मा प्रकाशित

काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार–२०८२ का लागि अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरिएको छ।

यस वर्ष पुरस्कारका लागि देशभरबाट प्राप्त २९८ कृतिमध्ये गहन मूल्याङ्कनपछि १० पुस्तक अन्तिम चरणका लागि छनोट गरिएको मदन पुरस्कार गुठीले जनाएको छ।

गुठीले सार्वजनिक गरेको अकारादि क्रमअनुसार उत्कृष्ट सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ समावेश छन्।

यस वर्षको सूचीमा उपन्यास, इतिहास, संस्कृति, आत्मकथा तथा समसामयिक विषयवस्तु समेटिएका विविध विधाका कृतिले स्थान पाएका छन्, जसले नेपाली साहित्यको विषयगत र शैलीगत विविधतालाई प्रतिबिम्बित गरेको गुठीको संकेत छ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार उत्कृष्ट १० कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ।

मदन पुरस्कार

ट्रेन्डिङ ( साप्ताहिक )