Logo
३१ साउन २०८३, आईतबार

बिल लिनुस्, १० लाखसम्म उपहार जित्नुस्

अक्षरपाटी
२०८३ साउन ५ , मंगलबार १०:०७ मा प्रकाशित

काठमाडौं । सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ।

नयाँ व्यवस्थासँगै अब बिल लिने उपभोक्ताले दैनिक नगद उपहार र पाक्षिक बम्पर उपहारमार्फत एक लाख ३३ हजार ३४ रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जित्ने अवसर पाउने भएका छन्।

अर्थ मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार यो कार्यक्रम नेपाल सरकारको स्वीकृत बजेटमार्फत सञ्चालन हुनेछ। सरकारका अनुसार कर प्रणालीमा नागरिकको सहभागिता बढाउने, वस्तु तथा सेवा खरिद–बिक्रीको वास्तविक अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

कार्यविधिअनुसार नेपालभित्र आफ्नै प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। डिजिटल माध्यमबाट गरिएको भुक्तानीको विवरण स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुने भएकाले त्यस्ता कारोबारका लागि अलग्गै विवरण दर्ता गर्नुपर्ने छैन। प्रत्येक योग्य कारोबारबापत उपभोक्ताले एउटा उपहार टिकट प्राप्त गर्नेछन्।

नगद वा अन्य माध्यमबाट खरिद गरी बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ।

यद्यपि व्यापारिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा, हवाई टिकटसम्बन्धी बिल तथा प्यान नम्बर नभएका विक्रेताबाट जारी भएका बिल भने उपहार योजनामा सहभागी हुन योग्य हुने छैनन्।

कार्यविधिअनुसार विजेता छनोट आन्तरिक राजस्व विभागको प्रणालीबाट स्वचालित रूपमा गरिनेछ। छनोट प्रक्रियालाई पारदर्शी बनाउन उच्चपदस्थ तथा प्रतिष्ठित व्यक्तित्व, सम्बन्धित निकायका प्रतिनिधि र सञ्चारकर्मीलाई समेत उपस्थित गराउन सकिने व्यवस्था गरिएको छ।

योजनाअन्तर्गत हरेक दिन एक जना भाग्यशाली उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् भने महिनामा दुई पटक हुने पाक्षिक बम्पर उपहारमा दुई जना विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक महिनाको १ गते अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्म दर्ता भएका कारोबारबाट तथा प्रत्येक महिनाको १६ गते सोही महिनाको १ गतेदेखि १५ गतेसम्म भएका कारोबारबाट विजेता छनोट गरिने व्यवस्था गरिएको छ।

विजेता घोषणा भएपछि विभागले मोबाइल नम्बर र इमेलमार्फत जानकारी गराउनेछ। साथै विभागको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत पनि विजेताको नाम सार्वजनिक गरिनेछ। उपहार प्राप्त गर्न विजेताले घोषणा भएको मितिले १५ दिनभित्र सक्कल बिल, नागरिकता वा राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजात, बैंक खाताको विवरण र प्यान नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ।

उपहार रकममा आयकर ऐन, २०५८ को दफा ८८क बमोजिम २५ प्रतिशत कर कट्टी गरिनेछ। आवश्यक कागजात प्रमाणीकरण भएपछि विभागले १० दिनभित्र विजेताको बैंक खातामा रकम जम्मा गर्ने जनाएको छ। तोकिएको अवधिभित्र कसैले पनि उपहार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कार्यविधिमा उल्लेख गरिएको छ।

उपहार कार्यक्रम करदाता