Logo
१४ साउन २०८३, बिहीबार

संकट चुलिएपछि प्रधानमन्त्री सक्रिय, राष्ट्रका नाममा सम्बोधनदेखि राष्ट्रपति र उपराष्ट्रपतिसँग संवाद

अक्षरपाटी
२०८३ साउन १४ , बिहीबार ११:०७ मा प्रकाशित

काठमाडौं । संसददेखि सडकसम्म खोजी हुँदा पनि कहीँकतै नबोल्ने प्रधानमन्त्री बालेन शाह सुनसरीको देवानगन्ज–सिरहालगायत क्षेत्रमा भएको घटनाकाे पाँच दिनपछि सक्रिय भएका छन्।

विभिन्न जिल्लामा तनाव बढ्दै गएपछि प्रधानमन्त्री शाह सक्रिय देखिएका हुन्। सरकारले प्रारम्भिक चरणमा पर्याप्त सक्रियता नदेखाएको भन्दै सदन र सडकमा आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार वर्तमान परिस्थितिप्रति पूर्ण रूपमा गम्भीर, संवेदनशील र जिम्मेवार रहेको बताए।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने र देशभर शान्ति–सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले सामाजिक सञ्जालमार्फत अफवाह, घृणा र समुदायबीच वैमनस्य फैलाउने गतिविधिमा संलग्न नहुन सबै नागरिकलाई आग्रहसमेत गरे।

प्रधानमन्त्रीले सम्बोधनसँगै सरकारको उच्च तहमा राजनीतिक तथा संवैधानिक समन्वय पनि तीव्र पारिएको छ। सम्बोधनपछि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवास पुगेर भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बनेपछि राष्ट्रपतिसँग बालेनको यो पहिलो भेट हो।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको समसामयिक राजनीतिक तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा छलफल भएको छ। पछिल्लो घटनाक्रम, विकसित सुरक्षा अवस्था तथा सामाजिक सद्भाव कायम राख्ने उपायबारे उनीहरूबीच विमर्श भएको जनाइएको छ।

यसैबीच प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोन संवाद गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनीहरूबीच मुलुकको वर्तमान अवस्थाबारे छलफल भएको थियो। संवादका क्रममा राष्ट्रिय हित, आपसी समन्वय तथा वर्तमान परिस्थितिलाई संयमतापूर्वक व्यवस्थापन गर्ने विषयमा विचार–विमर्श भएको बताइएको छ।

सुनसरी घटनापछि विभिन्न स्थानमा देखिएको तनावका बीच प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नु, त्यसलगत्तै राष्ट्रपति र उपराष्ट्रपतिसँग समन्वय गर्नु तथा सरकारले सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउनु, गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई तनावग्रष्त जिल्लामा पठाउनुबाट पछिल्लो अवस्थालाई लिएर सरकार सक्रिय भएको सन्देश दिन खोजिएको विश्लेषण गरिएको छ।

बालेन शाह राष्ट्रपति रामचन्द्र पाैडेल

ट्रेन्डिङ ( साप्ताहिक )