


काठमाडौं । नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि विश्वभर प्रदर्शनमा आउने भएको छ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित चलचित्रह कृष्ण जन्माष्टमीको शुभ अवसर पारेर दर्शकमाझ ल्याउन लागिएको हो।
निर्माता लम्सालका अनुसार ‘बा एक योद्धा’ केवल चलचित्र मात्र नभई हरेक परिवारले अनुभूति गर्ने बुवाको संघर्ष, त्याग र प्रेमको कथा हो।
‘हामीले एउटा यस्तो चलचित्र बनाउने प्रयास गरेका छौं, जसले दर्शकलाई आफ्नै परिवार र आफ्ना सम्बन्ध सम्झन बाध्य बनाओस्,’ निर्माता लम्सालले भने, ‘चलचित्र हेरेर एउटा परिवारमा बाको योगदान कति हुन्छ ? त्यसको महशुस हरेक सन्तानलाई महशुस गराउने कोशिस गरेका छौँ।’
हरि लम्सालको निर्देशन रहेको चलचित्रमा उनले कथा तथा पटकथासमेत तयार पारेका छन्। डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा रहेका गीतमा हरि लम्सालकै संगीत रहेको छ।
चलचित्रको मुख्य आकर्षणमध्ये एक हो– दिव्यदेव पन्तले निर्वाह गरेको बुवाको भूमिका। परिवारको खुसीका लागि आफ्ना रहर र चाहना त्याग गर्ने एक साधारण बुवाको असाधारण यात्रालाई उनले जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, झरना थापा आमाको भूमिकामा देखिएकी छन् भने सुहाना थापाले छोरीको भूमिका निर्वाह गरेकी छन्। सागर खनाल र सुप्रज्ञा शर्माले छोरा–बुहारीको भूमिकामा पारिवारिक सम्बन्धका भावना र उतारचढावलाई पर्दामा प्रस्तुत गरेका छन्।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मासहित शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुंगाना, अञ्जन ढकाल र करण शाहलगायत कलाकारको अभिनय रहेको छ। चर्चित अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।
करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको चलचित्रको छायांकन काठमाडौं र काभ्रेको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र पनौतीमा गरिएको हो। झन्डै दुई दशकदेखि अमेरिकामा बस्दै आएका बसन्त लम्साल व्यवसायसँगै गीतकार, संगीतकार र गायकका रूपमा पनि परिचित छन्। समाजसेवा र सिर्जनात्मक क्षेत्रमा सक्रिय लम्सालको चलचित्र यात्राको दोस्रो अध्यायका रूपमा ‘बा एक योद्धा’ दर्शकमाझ आउँदैछ।
बा एक योद्धा

