


काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु हुँदैछ।
५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक हुने यसपटकको एक्स्पोमा नेपाली अटोमोबाइल बजारको बदलिँदो अवस्था झल्काउने छ।
एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल मोबिलिटीका उत्पादनसहित ५१ वटा स्टल रहनेछन्। नयाँ कार, मोटरसाइकल र विद्युतीय सवारी प्रदर्शनसँगै सडक सुरक्षा, दुर्घटनापछिको तत्काल उपचार, यातायात क्षेत्रमा लगानी, युवा सशक्तीकरण, ब्याट्री रिसाइकल, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), प्रविधि तथा सीप विकासका विषयमा समेत बहस र अन्तर्क्रिया हुने आयोजकले जनाएको छ।
यसपटकको एक्स्पोले एउटा सन्देश दिने छ- अब नेपालको अटोमोबाइल बजार पेट्रोल र डिजेलमा मात्रै निर्भर रहेन। ईभी, हाइब्रिड, कमर्सियल इलेक्ट्रिक मोबिलिटी, चार्जिङ प्रविधि र नयाँ ऊर्जा प्रणाली बजारका प्रमुख विषय बन्दै गएका छन् भन्नेकुरा एक्सपोमा देखिनेछ। केही वर्षअघिसम्म नेपाली सडकमा दुर्लभ देखिने विद्युतीय कार अहिले सामान्य दृश्य बन्न थालेका छन्।
सात वर्षमा ४२ हजार ईभी
नेपालमा विद्युतीय सवारीको बजार विस्तार तीव्र बन्दै गएको पछिल्लो तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म नेपालमा ४२ हजार २३३ वटा ईभी आयात भइसकेका छन्। पछिल्लो आर्थिक वर्ष मात्रै १० हजार ८४७ वटा ईभी नेपाल भित्रिएका छन्।
यद्यपि ईभी आयातको संख्या अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले घटेको पनि आयातको मूल्य भने करिब ५७ प्रतिशतले बढेर २५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसले नेपाली बजारमा तुलनात्मक रूपमा महँगा र उच्च प्रविधियुक्त विद्युतीय सवारी साधन थपिँदै गएको बुझ्न सकिन्छ।
चीनको वर्चश्व
नेपालमा २०८२/०८३ मा आयात भएका कुल ४२ हजार २३३ ईभीमध्ये २८ हजार २६४ वटा चीनबाट मात्रै आयात गरिएका छन्। यो कुल आयातको करिब ६६.९ प्रतिशत हो। यस्तै भारतबाट ११ हजार ९६० वटा ईभी आयात भएका छन्, जुन करिब २८.३ प्रतिशत हो। त्यस्तै थाइल्यान्डबाट ८२४ वटा ईभी नेपाल भित्रिएको तथ्यांक छ।
यसले एकातर्फ नेपाली बजारमा चिनियाँ र भारतीय विद्युतीय सवारीको बलियो उपस्थिति देखाउँछ भने अर्कोतर्फ नेपालको ईभी आपूर्ति प्रणाली केही सीमित मुलुकमा निर्भर रहेको संकेत पनि गर्छ। भविष्यमा मूल्य, आपूर्ति शृंखला, स्पेयर पार्ट्स, ब्याट्री, सफ्टवेयर, सर्भिसिङ र पुनर्बिक्री बजारमा समेत यसको प्रभाव पर्न सक्ने देखिन्छ। चिनियाँ उत्पादनको वर्चश्वले नेपाली बजारमा प्रविधि, मोडल र मूल्यमा प्रतिस्पर्धा बढाएको छ। जसको प्रत्यक्ष लाभ उपभोक्ताले पाएका छन्।
घटेन पेट्रोलियमको खपत
तीव्र गतिमा ईभीको बजार विस्तार भए पनि नेपालमा पेट्रोलियम खपत भने अपेक्षाअनुसार घट्न नसकेको पाइएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २१ लाख ४४ हजार ९७५ किलोलिटर पेट्रोल तथा डिजेल खपत भएको छ। सोही अवधिमा पेट्रोल र डिजेल आयातमा करिब २ खर्ब ४९ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ। सोही वर्ष ईभी आयातको कुल मूल्य २५ अर्ब ५६ करोड रुपैयाँ मात्रै छ।
यसले के देखाउँछ भने एक वर्षमा पेट्रोल र डिजेल आयातमा भएको खर्च ईभी आयातको खर्चभन्दा करिब ९.८ गुणा बढी छ। यो तथ्यांकले नेपालमा ईभीको प्रवेश तीव्र भए पनि समग्र यातायात प्रणाली अझै पेट्रोलियम पदार्थमै ठूलो मात्रामा निर्भर रहेको देखाउँछ।
नेपालमा वार्षिक १० हजारभन्दा बढी ईभी आयात भइरहे पनि पेट्रोल–डिजेलको खपतमा ठूलो कमी नआउनुले निजी प्रयोगका लागि मात्रै यो संख्या बढेको र सार्वजनिक यातायातलाई अझै यसमा जोड्न नसकिएको सरोकारवालाको बुझाइ छ।
पुराना पेट्रोल–डिजेल सवारीलाई क्रमशः विस्थापन गर्ने नीति, सार्वजनिक यातायातको विद्युतीकरण, पर्याप्त चार्जिङ पूर्वाधार निर्माण, विद्युत् वितरण प्रणालीको क्षमता विस्तार तथा ईभीमैत्री कर र नीतिगत वातावरण आवश्यक देखिएको सरोकारवालाको भनाइ छ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पोलाई केवल सवारी साधनको प्रदर्शनीका रूपमा नहेरी नेपालको आधुनिक र दिगो यातायात प्रणाली विकास गर्ने साझा प्लेटफर्मका रूपमा अघि बढाउन खोजिएको बताएकी छन्। उनका अनुसार एक्स्पोको उद्देश्य आधुनिक, दिगो र पहुँचयोग्य मोबिलिटी प्रवर्धन गर्नु हो।
यसकारण यसपटकको एक्स्पो नयाँ कार वा मोटरसाइकल हेर्ने र खरिद गर्ने अवसरमा मात्र सीमित नहुने उनको भनाइ छ। सडक सुरक्षा, दुर्घटनापछिको हेरचाह, नयाँ प्रविधि, एआई, ब्याट्री रिसाइकल, लगानी, सीप तथा युवा सहभागितासहित नेपालको भविष्यको मोबिलिटीबारे बहस गर्ने थलो बन्ने उनले बताइन्।
बदलिँदो बजार
नेपालको अटोमोबाइल बजार अहिले संक्रमणको चरणमा छ। पेट्रोल र डिजेलमा आधारित परम्परागत बजारसँगै विद्युतीय तथा नयाँ ऊर्जा प्रविधिले आफ्नो स्थान बलियो बनाउँदै लगेको छ।
तर ईभीको संख्या बढ्दैमा पेट्रोलियम निर्भरता तत्काल अन्त्य हुने अवस्था छैन। निजी सवारीमा ईभीको हिस्सा बढे पनि सार्वजनिक यातायात, व्यावसायिक सवारी, पुराना सवारीको व्यवस्थापन र चार्जिङ पूर्वाधारमा अझै ठूलो काम गर्न बाँकी रहेको जानकारहरु नै बताउँछन्।
त्यसैले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा देखिने नयाँ मोडल र प्रविधिभन्दा पनि नेपालको यातायात प्रणाली अब कुन दिशामा अघि बढ्ने भन्ने बहस महत्वपूर्ण हुनेछ। एकातर्फ ४२ हजारभन्दा बढी ईभीको आयात र चीन–भारतको बढ्दो उपस्थिति छ भने अर्कोतर्फ वार्षिक २१ लाख किलोलिटरभन्दा बढी पेट्रोल–डिजेल खपत भइरहेको छ। यी दुई तथ्यांकले नेपालको मोबिलिटी बजारमा भइरहेको परिवर्तन र बाँकी रहेको चुनौती दुवैलाई एकैसाथ देखाउँछन्।
अध्यक्ष रितु सिंह वैद्य नाइमा

