Logo
२७ साउन २०८३, बुधबार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

अक्षरपाटी
२०८३ साउन २७ , बुधबार ०२:०८ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिएको छ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो।

उनलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित कार्यक्रम अन्तर्गत हवाई उद्धारमार्फत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

त्यसैगरी, आत्महत्याको प्रयासपछि गम्भीर स्वास्थ्य अवस्था उत्पन्न भई सल्ले अस्पतालमा उपचाररत एक युवालाई थप उपचार तथा आवश्यक सघन उपचार सेवा उपलब्ध गराउन चिकित्सकीय सिफारिसबमोजिम हवाई उद्धार गरिएको छ।

उनलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

मन्त्री सीता वादी