


काठमाडौं । उद्योगमन्त्री गौरी कुमारी यादवको निर्देशनपछि वर्षौँदेखि राज्यलाई तिर्न बाँकी उद्योग तथा संस्थाको बक्यौता धमाधम असुली हुन थालेको छ।
लामो समयदेखि उठ्न नसकेको भाडा तथा अन्य बक्यौता रकम असुलीलाई उद्योग मन्त्रालयले प्राथमिकतामा राख्दै कडाइ गरेपछि हालसम्म ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा असुली भएको छ।
मन्त्री यादवले राज्यलाई तिर्नुपर्ने रकम लामो समयदेखि नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न निर्देशन दिएपछि सम्बन्धित निकायले असुली प्रक्रिया तीव्र बनाएको हो। मन्त्रालयका अनुसार करिब ४० वर्षदेखि उठ्न नसकेको उद्योगको भाडा बक्यौता समेत अहिले असुल हुन थालेको छ।
यसैक्रममा कन्टिनेन्टलबाट मात्रै ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा बक्यौता असुली भएको छ। विभिन्न उद्योग तथा संस्थाबाट रकम उठाउने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।
बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएका उद्योग सञ्चालनलाई सहज बनाउने कामसमेत अघि बढाइएको छ। यसक्रममा थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ। यद्यपि विद्युत् बक्यौता नतिरेका कारण हालसम्म १६ वटा उद्योगको विद्युत् लाइन काटिएको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।
वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सरकारी बक्यौता उठाउने अभियानले गति लिएपछि राज्यको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मन्त्रालयले बाँकी रहेका उद्योग तथा संस्थाबाट पनि बक्यौता असुलीलाई निरन्तरता दिने जनाएको छ।
यो अभियानले थन्किएको राज्यको रकम फिर्ता ल्याउने मात्र नभई बक्यौता तिर्ने संस्कार विकास गर्न र उद्योग सञ्चालनमा देखिएका अवरोध हटाउनसमेत सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
मन्त्री गाैरी यादव

