Logo
३ भदौ २०८३, बुधबार

११ महिनादेखि अमेरिकामा रहेका देउवा पदमुक्त, सभामुखको निर्णयमा कांग्रेस असन्तुष्ट

अक्षरपाटी
२०८३ भदौ ३ , बुधबार ११:०८ मा प्रकाशित

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीम भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन्।

करिब ११ महिनादेखि अमेरिका रहेका देउवालाई सभामुख भण्डारीले पदमुक्त गरेपछि शाहले उक्त निर्णय निष्पक्ष नभएको आरोप लगाएका हुन्। पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुखले प्रदेशसभाको अंकगणितलाई प्रभावित पार्ने गरी निर्णय गरेको दाबी गरे।

मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका बेला देउवालाई पदमुक्त गरिएको भन्दै शाहले सभामुखको निर्णयप्रति प्रश्न उठाएका छन्।

‘आज विश्वासको मतका लागि सरकारले तयारी गरेको छ। सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभयो,’ शाहले भने, ‘सभामुखले पक्षपाती निर्णय गर्नुभयो। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

शाहका अनुसार देउवाले आफू लामो समयदेखि प्रदेशसभामा अनुपस्थित रहेको जानकारी गराए पनि सभामुखले त्यसबारे आवश्यक सोधखोज नगरी पदमुक्त गर्ने निर्णय गरेका हुन्।

उनले प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित सदस्यसँग आवश्यक स्पष्टीकरण तथा सोधपुछ गर्नुपर्ने बताए। यसअघि साविक नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पदमुक्त गरिएको र सर्वोच्च अदालतबाट पुनर्बहाली भएको उदाहरण दिँदै शाहले देउवाको हकमा पनि कानुनी उपचारको बाटो खुला रहेको बताए।

‘कुनै पनि प्रदेशसभा सदस्यलाई हटाउँदा एकपटक सोधपुछ गर्नुपर्छ। यसअघि पनि यस्तै प्रकारका घटना भएका छन्,’ उनले भने।

सभामुखले दलगत स्वार्थभन्दा माथि उठेर भूमिका निर्वाह गर्नुपर्ने शाहको भनाइ छ। प्रदेशसभाको अंकगणितलाई आधार बनाएर सभामुखले निर्णय गर्न नहुने भन्दै उनले सभामुखको निष्पक्षतामाथि प्रश्न उठ्ने गतिविधि दोहोरिन नहुने बताए।

‘सभामुखले दलीय मान्यतालाई आधार बनाएर दलको अंकगणित हेरी भूमिका निर्वाह गर्नुहुँदैन। यस्ता प्रकारका घटना दोहोरिनु हुँदैन,’ शाहले भने।

सभामुखको निष्पक्ष भूमिकाका लागि आफूहरूले सहयोग गर्ने भए पनि गलत गतिविधिको भने विरोध गरिरहने उनले बताए।

यसैबीच, मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। उक्त मतदानमा नेपाली कांग्रेसले सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी पनि शाहले दिएका छन्।

नेपाली कांग्रेस प्रकाश देउवा सुदूरपश्चिम प्रदेश