




धनगढी । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध भएर अघि बढ्न नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले कांग्रेसभित्रको विवादलाई थप गहिरो बनाउने गरी अदालतबाट समयमै न्याय सम्पादन हुन नसकेको दाबी गरे।
अदालतको ढिलाइले कसैलाई फाइदा पुग्ने अवस्था सिर्जना भएको उनको आरोप थियो।
ऐतिहासिक लोकतान्त्रिक विरासत बोकेको पार्टीको भविष्यसँग अदालतले खेलवाड गर्न नहुने भन्दै महरले अदालतको निर्णयपछि मात्रै कांग्रेस एकताबद्ध भएर अघि बढ्न सक्ने बताए।
कांग्रेसलाई विभाजित राख्ने कुनै पनि सुनियोजित षड्यन्त्रमा अदालत सहभागी हुन नहुने उनको धारणा थियो।
‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमाथिका षड्यन्त्रको पर्दाफास हुनुपर्छ’
महरले सुदूरपश्चिमको भविष्यसँग जोडिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनमा पटक–पटक अवरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि लगाए।
विश्वविद्यालय कुनै व्यक्तिको निजी संस्था नभई सुदूरपश्चिमका जनताको सपना र राष्ट्रिय महत्त्वको सार्वजनिक संस्था भएको उनको भनाइ थियो।
विश्वविद्यालयको स्वायत्तता, गरिमा र संस्थागत स्थायित्वको संरक्षण गर्नु राज्यको दायित्व रहेको उनले बताए।
विश्वविद्यालय सञ्चालनमा देखिएका समस्या तथा अवरोधका पछाडि भएका गतिविधिको छानबिन गरी त्यस्ता षड्यन्त्रको पर्दाफास गर्नुपर्नेमा उनले जोड दिए।
‘रास्वपाका चुनावी वाचा कार्यान्वयन भए–नभएको मूल्यांकन गर्ने बेला आयो’
महरले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावका बेला जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन भए–नभएको समीक्षा गर्ने समय आएको बताए।
उनले सरकारले गरेका प्रतिबद्धता र कामको छोटो अवधिमै मूल्यांकन गर्नुपर्ने उल्लेख गर्दै जनतासामु गरिएका वाचा कार्यान्वयनको अवस्था स्पष्ट हुनुपर्ने बताए।
जलवायु परिवर्तनजस्तो महत्वपूर्ण विषयलाई कोपजस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा प्रभावकारी रूपमा मुख्य मुद्दाका रूपमा उठाउन नसक्नुले सरकार वैदेशिक सम्बन्धलाई थप प्रगाढ बनाउन चुकेको समेत महरले टिप्पणी गरे।
नेपाली कांग्रेस नैनसिंह महर

