Logo
१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढी : बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने

अक्षरपाटी
२०८३ भदौ ११ , बिहीबार १२:०८ मा प्रकाशित

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई तत्काल उद्धार गरी उपचारको व्यवस्था मिलाउने निर्णय गरेको हो।

निर्णयअनुसार घाइतेलाई प्रारम्भिक रूपमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी उपचार क्याम्पमा लगिनेछ। त्यहाँ घाइतेको स्वास्थ्य अवस्था मूल्यांकन गरी थप उपचारको व्यवस्था मिलाइने छ।

गम्भीर अवस्थाका घाइतेलाई भने प्राथमिकताका आधारमा तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचार गरिनेछ। घाइतेको अवस्था र उपचारको आवश्यकताका आधारमा प्राथमिकीकरण तथा वर्गीकरण गरी उद्धार र उपचार प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्गबाट प्रभावित क्षेत्रतर्फ पठाउन थालिएको छ। आवश्यक खाद्यान्न, औषधि तथा अन्य राहत सामग्री नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने व्यवस्थापन केन्द्रतर्फ पठाउन सुरु गरिएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतलाई तीव्र बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

सरकारले अहिले घाइतेको उद्धार तथा उपचार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण र प्रभावित परिवारसम्म राहत पुर्‍याउने कार्यलाई पहिलो प्राथमिकता दिएको छ। अहिले राति पनि स्थलगत रुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समुदायले उद्धारको कार्य जारी राखेका छन्।

भोटेकोशी बाढी

ट्रेन्डिङ ( साप्ताहिक )