



काठमाडौं। रसुवा र नुवाकोटमा आएको भोटेकोशी बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलनका क्रममा एउटै व्यक्तिको नाम दोहोरिएर आएको पाइएपछि रुजु गरिने भएको छ। तथ्यांकमा देखिएको दोहोरोपन हटाउन सरकारले ७५ वटै जिल्लाबाट विवरण रुजु गरी वास्तविक संख्या यकिन गर्ने प्रक्रिया अघि बढाएको हो।
सम्पर्कविहीन व्यक्तिको तथ्यांक यकिन गर्ने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरेको छ।
प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा बाढीपछि संकलित सम्पर्कविहीनको विवरणमा देखिएको दोहोरो नाम पहिचान गरी वास्तविक तथ्यांक तयार गर्ने विषयमा केन्द्रित छलफल भएको हो।
छलफलमा एउटै व्यक्तिको नाम सम्बन्धित व्यक्तिको गृहजिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोटबाट समेत आफन्तले टिपाएको पाइएको जानकारी गराइएको थियो। एउटै व्यक्तिका लागि विभिन्न जिल्लाबाट विवरण आएपछि सम्पर्कविहीनको कुल संख्या यकिन गर्न समस्या देखिएको हो।
अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लाबाट प्राप्त सम्पर्कविहीनको विवरण रुजु गर्नेछन्। परिवार तथा आफन्तसँग आवश्यक समन्वय गरी व्यक्ति सम्पर्कमा आएको वा वास्तविक रूपमा सम्पर्कविहीन रहेको अवस्था यकिन गरेपछि प्रमाणित विवरण ‘सेतु एप’ मा प्रविष्ट गरिने छ।
यसरी जिल्लागत रूपमा विवरण रुजु गरेपछि दोहोरिएका नाम हटाउने र एउटै व्यक्तिको विवरण एकभन्दा बढी स्थानमा परेको अवस्थामा त्यसलाई सच्याउने प्रक्रिया अघि बढाइनेछ।
प्राधिकरणले विपद्पछि संकलित तथ्यांकलाई यथार्थपरक र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्दै आएको छ।
भोटेकोशी बाढीपछि खोज तथा उद्धारसँगै सम्पर्कविहीनको वास्तविक संख्या पहिचान गर्ने कामलाई पनि प्राथमिकतामा राखिएको छ। जिल्ला तहबाट प्राप्त विवरण रुजु भएपछि मात्रै सम्पर्कविहीन व्यक्तिको यकिन तथ्यांक सार्वजनिक गर्न सहज हुने प्राधिकरणको बुझाइ छ।
भोटेकोशी बाढी

