


काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २ हजार ३ सयभन्दा बढी प्रहरी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढीका कारण रसुवा जिल्लामा कार्यरत केही प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। प्रहरीको विवरणअनुसार विभिन्न प्रहरी कार्यालयबाट २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।
प्रहरीका अनुसार टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, नेचुङलगायतका प्रहरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये केही सम्पर्कमा आएका छन् भने केही अझै सम्पर्कविहीन छन्। उनीहरूको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीमा १५७ शव फेला
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा हालसम्म १५७ जनाको शव फेला परेको छ। मृतकहरु रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँलगायतका जिल्लाका रहेका छन्।
बाढीपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको थियो। स्थलगत रूपमा अवेर रातिसम्म ९३ जनाको उद्धार गरिएको छ भने हेलिकप्टरमार्फत थप ११६ जनाको उद्धार गरिएको थियो। राति पनि सम्भव भएसम्म उद्धार कार्यलाई निरन्तरता दिइएको गृहमन्त्रालयले जनाएको छ।
उद्धारमा सक्रियता
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार, खोजी, सुरक्षा व्यवस्थापन तथा राहत वितरणमा सुरक्षाकर्मी निरन्तर खटिरहेका छन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, बेपत्ता नागरिकको खोजी गर्ने तथा घाइतेलाई अस्पताल पुर्याउने कार्यलाई प्राथमिकता दिइएको छ।
भोटेकोशी बाढीपछि रसुवा तथा आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ।
रसुवा बाढी

