


रसुवा । बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाली सेनाले आज बिहान मात्रै हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरेको जनाएको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्।
विदेशी नागरिकलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्य उद्धार गरिएकालाई धुन्चे ल्याउने तयारी गरिएको छ।
त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको समेत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। आयोजनाका अन्य तीनवटा टनेलमा भने उद्धार कार्य जारी छ।
टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको खोज तथा उद्धार कार्यसमेत जारी छ। उनीहरूको उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने क्रम भइरहेको नेपाली सेनाले जनाएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालित निजी हेलिकोप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह गरिएको छ।
आफ्नै ढंगले हेलिकोप्टर सञ्चालन गर्दा प्रभावित क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको छ।
प्राधिकरणले हेलिकोप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित रूपमा उद्धार कार्य अघि बढाउन निर्देशन दिएको छ।
सेनाको हेलिकोप्टर आवश्यक परे सम्बन्धित जिल्लास्थित नेपाली सेनाको टोलीसँग समन्वय गर्न तथा निजी हेलिकोप्टर आवश्यक भए प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल उद्धारको व्यवस्था मिलाउन भनिएको छ।
बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित Rescue Coordination Center (RCC) मार्फत २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्।
बिहान ६:३० बजेदेखि नै तत्काल परिचालन गर्न सकिने गरी ती हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ भने बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन्।
उद्धार तथा राहत भोटेकोशी बाढी

