Logo
११ भदौ २०८३, बिहीबार

भोटेकोशी नदीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फेरि फुट्न सक्ने

अक्षरपाटी
२०८३ भदौ ११ , बिहीबार ०६:०८ मा प्रकाशित

काठमाडौं । भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावना देखिएको छ। जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनामा भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण गर्दा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको देखिएको छ।

उक्त ताल निरन्तर बढिरहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको सूचनामा उल्लेख छ। ताल फुटेमा भोटेकोशी नदीको बहाव एक्कासि बढेर तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम उत्पन्न हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो।

बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीको बहाव र आसपासको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ। विशेषगरी नदी किनारमा रहेका बस्ती तथा यात्रुले अनावश्यक जोखिम नलिन र सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

तस्विर : गणेश श्रेष्ठको फेसबुकबाट

भोटेकोशी बाढी