Logo
१५ भदौ २०८३, सोमबार

त्रिशूली–३ ‘ए’ सुरुङमा हावा पठाउन पाँच प्वाल बनाइयो, आजै भित्रको अवस्था पत्ता लगाउने तयारी

अक्षरपाटी
२०८३ भदौ १४ , आईतबार ०२:०८ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि पाँच वटा ड्रिल (प्वाल) बनाएको छ। ती प्वालमार्फत सुरुङभित्र हावा पठाउने र भित्रको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ।

सुरुङ विज्ञ तथा सांसद् श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले एक्स्काभेटरको सहायताले सुरुङको स्ल्याब पत्ता लगाउने प्रयास गरिरहेको छ। खन्ने क्रममा चट्टान भेटिएपछि उद्धारमा थप चुनौती देखिएको उनले बताए।

‘हामी एक्स्काभेटरबाट खनेर सुरुङको स्ल्याब पत्ता लगाउने प्रयास गरिरहेका छौं। खन्ने क्रममा चट्टान भेटिएको छ,’ न्यौपानेले भने, ‘चट्टानको भाग धेरै रहेनछ भने स्ल्याब चाँडै पत्ता लाग्नेछ। आवश्यक परे विस्फोट गराएर भए पनि सुरुङभित्र प्रवेश गर्ने प्रयास भइरहेको छ।’

उद्धारमा नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा अन्य सुरुङ विज्ञको टोली परिचालन गरिएको छ।

प्राधिकरणका इन्जिनियर सुरज दाहालका अनुसार एक–दुई जना व्यक्ति प्रवेश गर्न सक्ने गरी प्वाल बनाउन सकिए नेपाली सेनाका उद्धार विज्ञलाई सुरुङभित्र पठाएर अवस्था बुझ्ने तयारी छ।

‘सुरुङभित्र लेदो नछिरेको पुष्टि भयो भने थप उद्धारकर्तालाई भित्र पठाउने तयारी छ। त्यसपछि सम्भव भएसम्म एक–एक जना गर्दै कर्मचारीलाई बाहिर निकाल्ने प्रयास हुनेछ,’ दाहालले बताए।

प्राधिकरणका अनुसार आयोजनाको सुरुङमा कर्मचारी फसेको घटनाको दुई दिनपछि शुक्रबारदेखि मात्रै उद्धार प्रयास सुरु भएको हो। पाँच दिन बितिसक्दा पनि सुरुङमा प्रवेश गर्न नसकिएपछि भित्र फसेका कर्मचारीको अवस्थाबारे चिन्ता बढ्दै गएको अधिकारीहरूले बताएका छन्।

आयोजनाको भूमिगत विद्युत्गृहमा ओभरहाउलिङको काम भइरहेका बेला करिब ४० देखि ४२ जना उच्च प्राविधिक तथा विज्ञसहितको टोली सुरुङभित्र रहेको अनुमान गरिएको छ।

उद्धार टोलीले सुरुङभित्र हावा पठाउने, भौतिक अवस्था पत्ता लगाउने तथा सुरक्षित प्रवेश मार्ग पहिचान गर्ने प्रयासलाई तीव्र बनाएको छ।

त्रिशूली त्रिशूली–३ ‘ए’ सुरुङ प्वाल

ट्रेन्डिङ ( साप्ताहिक )