Logo
२४ भदौ २०८३, बुधबार

नबिल बैंकको १५.८० प्रतिशत लाभांश प्रस्ताव

अक्षरपाटी
२०८३ भदौ २४ , बुधबार १०:०९ मा प्रकाशित

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ। यी रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि हुने जनाइएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ। नबिल बैंकले हाल देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

नबिल बैंक