Logo
२६ भदौ २०८३, शुक्रबार

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात

अक्षरपाटी
२०८३ भदौ २६ , शुक्रबार ०८:०९ मा प्रकाशित

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारले आह्वान गरेको सहयोगअन्तर्गत प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग कोषमा जम्मा भएको हो। सरकारले विपद्पछि राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै विभिन्न व्यक्ति, संस्था तथा निकायबाट रकम संकलन भएको हो।

कोषमा रहेको मौज्दातमध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ रहेको छ।

यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ। विदेशी मुद्रामा रहेको रकमलाई समेत जोड्दा राहत कोषमा ठूलो परिमाणमा रकम संकलन भएको देखिन्छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मा निकासा भइसकेको छ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक देखिएको छ।

राहत कोष

ट्रेन्डिङ ( साप्ताहिक )