Logo
२६ भदौ २०८३, शुक्रबार

होस्टल व्यवसायी संघद्वारा बाढीपीडितका लागि २ लाख ७० हजार सहयोग

अक्षरपाटी
२०८३ भदौ २६ , शुक्रबार ११:०९ मा प्रकाशित

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि होस्टल व्यवसायी संघ नेपालले २ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत संघका अध्यक्ष किरण शर्माको नेतृत्वमा गएको टोलीद्वारा सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको संघकी कोषाध्यक्ष रमा योगीले जानकारी दिइन्।

भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन सहयोग गरिएको अध्यक्ष शर्माले बताए।

उनका अनुसार उक्त सहयोग रकम संघमा आबद्ध होस्टल व्यवसायीहरूको सामूहिक सहयोग, सद्भाव र मानवीय भावनाबाट जुटाइएको हो। संघले विपद्को कठिन घडीमा पीडितको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोगको हात अघि बढाउने सम्पूर्ण होस्टल व्यवसायीप्रति आभार व्यक्त गरेको छ।

संघले सहयोग रकम आर्थिक सहायता मात्र नभई विपद्मा परेका नागरिकप्रतिको साथ, सद्भाव र मानवीय ऐक्यबद्धताको प्रतीक भएको जनाएको छ। होस्टल व्यवसायी संघ नेपालले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

संघले ‘एकता नै हाम्रो शक्ति, सहयोग नै हाम्रो पहिचान र मानवता नै हाम्रो सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनासहित विपद्का बेला आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

अध्यक्ष किरण शर्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले होस्टल व्यवसायी संघ नेपाल

ट्रेन्डिङ ( साप्ताहिक )