



काठमाडौं । हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा व्रतालु तथा भक्तजनको ठूलो घुइँचो लागेको छ।
विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। व्रतालुको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ। भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ भने लाइनमा बसेको करिब आधा घण्टाभित्र दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
पशुपतिनाथको दर्शनपछि व्रतालु तथा भक्तजनहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन्। तीजको अवसरमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। कोषका अनुसार चार हजार सुरक्षाकर्मी तथा २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक परिचालन गरिएको छ।
काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ।
त्यसैगरी, देशका विभिन्न स्थानमा रहेका प्रमुख शिवालयहरूमा पनि तीजका व्रतालुहरूको भीड लागेको छ। बिहानैदेखि शिवालय पुगेर पूजा–आराधना गर्ने, दर्शन गर्ने तथा भगवान् शिवको उपासना गर्ने भक्तजनको चहलपहल बढेको छ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा व्रत बसेर भगवान् शिवको पूजा–आराधना गरेमा सुख, शान्ति र पारिवारिक कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। अविवाहित महिलाले असल पति प्राप्तिको कामना गर्दै तथा विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख–शान्ति र परिवारको समृद्धिको कामनासहित तीजको व्रत बस्ने परम्परा रहिआएको छ।
हरितालिका तीज

