Logo
१ असोज २०८३, बिहीबार

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा : विपद्पछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

अक्षरपाटी
२०८३ असोज १ , बिहीबार ०९:०९ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि आज बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी आज ७ः३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।

अर्थमन्त्री वाग्लेको भ्रमणमा विपद्पछिको पुनर्निर्माण, नेपाल–भारत आर्थिक सहकार्य तथा दुई देशबीचका राजनीतिक र कूटनीतिक सम्बन्धका विविध पक्ष मुख्य एजेन्डाका रूपमा रहनेछन्।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री डा. एस. जयशंकरसहित भारतीय सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। त्यस्तै भारतीय उद्योगी–व्यवसायी, कूटनीतिज्ञ तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम छ।

सीतारमणसँग पहिलो भेट

भ्रमणको पहिलो दिन आज साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, सहकार्यका क्षेत्र तथा विपद्पछिको पुनर्निर्माणलगायत विषयमा भेटवार्तामा छलफल हुने कार्यक्रम रहेको छ।

नेपालमा पछिल्लो समय प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको अवस्थामा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक सहकार्य र स्रोत परिचालनका विषय पनि भ्रमणको महत्वपूर्ण पाटोका रूपमा रहनेछन्।

जयशंकरसँग पनि भेटवार्ता

शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका आर्थिक तथा कूटनीतिक पक्षसँगै द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्।

उद्योगी र अर्थशास्त्रीसँग संवाद

भ्रमणको अन्तिम दिन शनिबार अर्थमन्त्री वाग्लेले भारतीय उद्योग तथा प्राज्ञिक क्षेत्रसँग संवाद गर्ने कार्यक्रम छ। बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। उक्त छलफलमा विकास अर्थनीति, आर्थिक सुधार तथा नेपाल–भारतबीच आर्थिक सहकार्यका सम्भावित क्षेत्रबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

तीन दिने भ्रमणका सबै कार्यक्रम सम्पन्न गरेपछि अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ।

भ्रमणमा पाँच सदस्यीय टोली

अर्थमन्त्री वाग्लेसँगै भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी सहभागी छन्। नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत पनि भ्रमण टोलीमा रहने छन्।

तीन दिने भ्रमणमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तासँगै आर्थिक, व्यापारिक र प्राज्ञिक क्षेत्रका संवादलाई समेत प्राथमिकता दिइएको छ। यसले नेपाल–भारतबीच आर्थिक सम्बन्ध र सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न तथा विपद्पछिको पुनर्निर्माणका विषयमा संवाद अघि बढाउन आधार तयार गर्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण