Logo
२ असोज २०८३, शुक्रबार

अर्थमन्त्री वाग्लेको भारत भ्रमणको दोस्रो दिन : महत्त्वपूर्ण कूटनीतिक भेटघाटमा सहभागी हुँदै

अक्षरपाटी
२०८३ असोज २ , शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । भारत भ्रमणको दोस्रो दिन आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन्।

तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका उनले हिजै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए। भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज (शुक्रबार) विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

अहिले ९ बजे उनी पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उच्चस्तरीय कूटनीतिक संवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

आजै, अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम नय भएको छ। भेटवार्ताको समय साँझ ५ बजेका लागि निर्धारण गरिएको छ।

अर्थमन्त्री डा. वाग्ले आजै भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुँदैछन्। भारत मण्डपममा आयोजना हुने कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे बृहत् र उच्चस्तरीय छलफल हुनेछ।

अर्थमन्त्रीको उच्चस्तरीय तीनदिने भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्। भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्र र अन्य उच्चस्तरीय भेटघाट गरेर अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल नेपाल फर्कने कार्यक्रम छ।

नेपालमा आएको भोटेकोशी महाविपत्तिमा भारतले देखाएको सहयोग तत्परतालगत्तै भएको अर्थमन्त्रीको यो भारत भ्रमण महत्वपूर्ण रुपमा हेरिएको छ। बाढीपीडितको उद्धार, राहत र पुन:स्थापनामा भारत सरकारको थप सहयोग र सदभावका लागि यो भ्रमणले थप बल पुग्ने विश्वास गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमण

ट्रेन्डिङ ( साप्ताहिक )