Logo
७ असोज २०८३, बुधबार

इन्द्रध्वज ठड्याएसँगै सुरु भयो काठमाडौँको इन्द्रजात्रा

अक्षरपाटी
२०८३ असोज ७ , बुधबार १०:०९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।

इन्द्रजात्राको प्रमुख सुरुवाती विधिका रूपमा लिइने लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजासहित धार्मिक विधिअनुसार पूजा तथा विभिन्न संस्कार सम्पन्न गरिएको हो। लिङ्गो ठड्याएसँगै जात्राका अन्य कार्यक्रमसमेत औपचारिक रूपमा सुरु भएका छन्।

काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने इन्द्रजात्रामा इन्द्र, भैरव, गणेश तथा कुमारीको पूजा आराधना गरिन्छ। जात्राका क्रममा हनुमानढोका दरबार क्षेत्र आसपास विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्दछ।

इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा कुमारी, गणेश र भैरवको रथयात्रालाई लिइन्छ। परम्पराअनुसार हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौँका विभिन्न टोलमा परिक्रमा गराइन्छ।

त्यस्तै, जात्राका क्रममा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न मौलिक सांस्कृतिक नाच तथा प्रदर्शनसमेत गरिन्छ। यी गतिविधिले काठमाडौँको प्राचीन कला, संस्कृति र परम्परालाई जीवन्त बनाउने गर्दछ।

इन्द्रजात्रा सुरु भएसँगै हनुमानढोका, बसन्तपुर तथा आसपासका क्षेत्रमा चहलपहल बढेको छ। जात्रा अवलोकनका लागि स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत बसन्तपुर क्षेत्रमा पुगेका छन्।

इन्द्रजात्राले काठमाडौँको मौलिक संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक सम्पदाको संरक्षणसँगै नयाँ पुस्तामाझ त्यसको निरन्तरता कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

इन्द्रजात्रा

ट्रेन्डिङ ( साप्ताहिक )