Logo
१६ असोज २०८३, शुक्रबार

२१ हजारको ल्युब आयल किन्दा लालबाबुलाई १० लाखको चिठ्ठा

अक्षरपाटी
२०८३ असोज १६ , शुक्रबार ०४:१० मा प्रकाशित

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा लिएको बिलको कारोबार उपहारका लागि छनोट भएको हो ।

असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार घोषणा गरेका हुन् ।

उपहार विजेता कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म उपहार कार्यक्रममा ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार योग्य भएका थिए । तीमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए भने अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी खरिद गरिएका वस्तुका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार समावेश थिए ।

कार्यक्रमअन्तर्गत उक्त अवधिका लागि दैनिक एक लाख रुपैयाँका दरले उपहार विजेतासमेत छनोट गरिएको विभागले जनाएको छ ।

करदाता प्रोत्साहन उपहार

ट्रेन्डिङ ( साप्ताहिक )