Logo
२६ असोज २०८३, सोमबार

कोहलपुरमा चार साहित्यकार पुरस्कृत

अक्षरपाटी
२०८३ असोज २५ , आईतबार ०६:१० मा प्रकाशित

कोहलपुर । लुम्बिनी प्रदेशकै अग्रणी साहित्यिक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले चार जना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।

कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगन्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’लाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो।

प्रतिष्ठानले साहित्यिक योगदानको कदर गर्दै कुरेसीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८२, आचार्यलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८३, जोशीलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ र चन्दलाई कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८३ प्रदान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका पूर्वप्रमुख प्राध्यापक डा. गोपालप्रसाद शर्माले चारै जना स्रष्टालाई दोसल्ला ओढाउँदै नगद पुरस्कार र सम्मानपत्रसहित सम्मानित गरेका थिए ।

समारोहमा उपस्थित साहित्यकारहरूले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । रचना वाचनसँगै पुरस्कार वितरण कार्यक्रमले साहित्यिक सिर्जना, प्रतिभा र स्रष्टाको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्दै साहित्यिक सिर्जना र प्रतिभा प्रोत्साहनमा योगदान पुर्‍याउँदै आएको छ ।

पुष्पराज जोशी साहित्यिक पुरस्कार

ट्रेन्डिङ ( साप्ताहिक )