




काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता भीष्मराज आङ्द्म्बेले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे तत्काल निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
आङ्द्म्बेले सत्तापक्षबाटै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापालगायत व्यक्तिलाई लक्षित गरी ‘पटकथा’ तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भए त्यो सामान्य विषय नभएको बताएका छन्।
उनले यस्तो गतिविधि भएको पुष्टि भए त्यसलाई विधिको शासनमाथिको गम्भीर प्रहारका रूपमा लिनुपर्ने बताएका छन्। हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका भनिएका तथ्यले गम्भीर प्रश्न जन्माएको आङ्द्म्बेको भनाइ छ।
अनुसन्धानका नाममा कसैलाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोज्नु तथा राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हुने उनले बताएका छन्।
‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’ भन्दै आङ्द्म्बेले प्रश्न गरेका छन्।
उनका अनुसार यदि अनुसन्धानका नाममा राज्यका निकायबाटै कसैलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको हो भने त्यो राजनीतिक प्रतिशोधको विषयमा मात्र सीमित रहँदैन। यसले राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने उनको भनाइ छ। आङ्द्म्बेले सत्ता स्थायी नहुने तर राज्यका संस्थाको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौंदेखि लड्दै आएको पार्टी भएको उल्लेख गर्दै उनले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
उनले आरोपको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ,’ आङ्द्म्बेले भनेका छन्, ‘राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुनुहुँदैन। सरकार क्षणिक सनकमा होइन, संविधान र विधिको शासनमा चल्नुपर्छ।’
आङ्द्म्बेले प्रधानमन्त्रीबाट यस विषयमा स्पष्ट जवाफ आउने अपेक्षा कम रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
इनम सापकोटा भीष्मराज आङ्द्म्बे

