Logo
६ वैशाख २०८२, शनिबार

‘सुपर सिक्स’ चरणमा बंगलादेश र भारत नेपालको प्रतिद्वन्द्वी

अक्षरपाटी
२०८० माघ १५ , सोमबार ११:०१ मा प्रकाशित

काठमाडौंं दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुगेको नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ।

‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेशबीचको खेल बुधबार हुनेछ।

‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार अर्को टेस्ट राष्ट्र भारतसँग खेल्नेछ।

समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको हो। समूह ‘डी’ मा तीनवटै खेल जितेको पाकिस्तान ६ अङ्कसहित पहिलो, दुई खेल जितेको न्युजिल्यान्ड चार अङ्कसहित दोस्रो र एक खेल जितेको नेपाल दुई अङ्कसहित तेस्रो भएका थिए।

तीनवटै खेलमा पराजित भएको अफगानिस्तान भने समूहगत चरणबाटै बाहिरिएको थियो।

नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो।

नेपालले अफगानिस्तानलाई भने एक विकेटले हराएको थियो ।

जारी विश्वकपमा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्ने प्रावधान छ।

‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ।

समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा परेका छन्। समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहेका छन्।

‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन्।

समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन।

समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ।

समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ।

‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्ड रहेका छन्।

समूह ‘दुई’ मा भने अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र जिम्बाबे रहेका छन्।

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ। भारत यू–१९ विश्वकपको साबिक विजेता राष्ट्र हो।

यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो। नेपालले सन् २००० मा श्रीलङ्कामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो।

यू–१९ विश्वकपमा नेपालको सबैभन्दा ठूलो उपलब्धि प्लेट च्याम्पियनसिपको उपाधि हो।

सन् २००६ को यू–१९ विश्वकप श्रीलङ्कामा आयोजना भएको थियो। त्यही विश्वकपमा पहिलो पटक नेपाली टोलीले प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो। त्यो विश्वकप नेपालका लागि ऐतिहासिक थियो।

यू–१९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो।

त्यसअघि सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले पराजित गरेको थियो। यू–१९ विश्वकपमा नेपालले यसअघि टेस्ट राष्ट्र बंगलादेशलाई पनि पराजित गरिसकेको इतिहास छ।

सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो। विश्वकपको यो संस्करणमा नेपालले दोस्रोपटक सहभागिता जनाएको थियो।

त्यही विश्वकपमा नेपालले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई ३० रनले हराएको थियो। त्यो विश्वकपमा नेपाली टोली प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो।

प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो। त्यसअघि नेपाली टोलीले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले हराएको थियो।

यू–१९ विश्वकपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तान र बंगलादेशका अतिरिक्त दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई पनि पराजित गरेको छ।