काठमाडौं । उपप्रधानमन्त्री वं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा समेत ‘बजेट छैन भन्ने प्रवृत्ति’ अन्त्य गर्नुपर्ने बताउनु भएको छ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे संघीय सरकारले गरिरहेका कामबारे जानकारी दिने क्रममा मन्त्री लामिछानेले विपद्को पूर्वतयारी र व्यवस्थापनमा बजेट अभावलाई कारण बनाउन नहुने बताउनु भएको हो।
‘नागरिकको सुरक्षा र ज्यान जोगाउने विषय सरकारको अनिवार्य दायित्व हो। र, यो दायित्व पूरा गर्न स्रोत–साधनको अभाव हुनु हुँदैन’ मन्त्री लामिछानेले आग्रह गर्दै भन्नुभयो, ‘स्रोत साधनको जोहो गर्न समितिले पनि सरकारलाई निर्देश गरोस्।’
‘हामीले निरन्तर बजेछ छैन भन्ने सुन्दै आएका छौं। तर, कति छैन र कसरी जुटाउन सकिन्छ भन्नेबारे पर्याप्त छलफल हुँदैन’ समितिका छलफल त्यसतर्फ पनि केन्द्रित हुने अपेक्षा गर्दै मन्त्री लामिछानेले गृह मन्त्रालय त्यसबारे खुलेर छलफल गर्न, आवश्यक स्रोतको जोहो गर्न र भएका कमीकमजोरी सच्याउन तयार गरेको बताउनुभयो।
क्षति न्यूनीकरणको पूर्वतयारी भन्दा विपद्पछिको व्यवस्थापनमा मात्रै केन्द्रित हुने प्रवृत्तिका कारण पनि स्रोतमा भार परिरहेको उहाँको भनाइ थियो। पूर्वतयारीमा सचेत र सजग हुन सके क्षति स्वतः घट्ने भएपनि पूर्वतयारीमै चुक्दा विपद् व्यवस्थापनमा सधैं बजेटको सन्दर्भ आउने गरेको उहाँको भनाइ थियो।