५ असार । नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएको इजरायलले ९२ हजार विदेशी श्रमिक लिने भएको छ । पश्चिम एसियामा रहेको इजरायल बसाइ र तलब सुविधाका हिसाबले आकर्षक श्रम गन्तव्य मानिन्छ ।
हिजो मंगलबार इजरायलको प्रधानमन्त्री कार्यालयले देशमा श्रमिकको अभाव समाधान गर्न कृषि, उद्योग, होटल र रेस्टुरेन्टका लागि ९२ हजार विदेशी श्रमिक भित्र्याउने योजना स्वीकृत भएको जनाएको हो ।
होटल क्षेत्रमा करिब २ हजार श्रमिक भित्र्याइने छ । इजरायले होटल क्षेत्रका लागि विदेशी श्रमिक भित्र्याउन लागेको पहिलोपल्ट हो ।
कोटाको ७० प्रतिशत खासगरी कृषि क्षेत्रका लागि छुट्याइएको छ । हमाससँगको युद्धका कारण इजरायली कृषि क्षेत्रले उत्पादन र जनशक्तिमा भारी क्षतिको सामना गर्नुपरेको छ । ७ अक्टुबरमा हमासले आक्रमण गर्नुअघि इजरायलमा २९ हजार ९ सय विदेशी श्रमिक थिए, जसमा धेरैजसो थाइल्याण्डका नागरिक थिए । उनीहरू खेत, बगैंचा, ग्रिनहाउस र प्याकिङ प्लान्टमा काम गर्थे ।
नेपालीहरू पनि इजरायली ज्येष्ठ नागरिकको हेरचाह, कृषि क्षेत्रमा काम गर्छन् । तर, युद्धको सुरुवातपछि यो संख्या घट्नुका साथै विभिन्न क्षेत्रको उत्पादन तथा सेवा प्रभावित भएको छ । इजरायलमा ठूलो संख्यामा अरबी श्रमिकहरूले पनि काम गर्दै आएका थिए । तर, प्यालेस्टाइनी प्राधिकरणले सुरक्षा जोखिमका कारण अहिले अरबी श्रमिकलाई कामका लागि अनुमति दिएको छैन ।
नेपालीलाई पनि लाभ
नेपालबाट हजारौंको संख्यामा श्रमिकहरू इजरायलमा काम गरिरहेका छन् । खासगरी ज्येष्ठ नागरिकको हेरचाह र कृषि क्षेत्रमा नेपाली श्रमिकले काम पाउँछन् । यसअघिदेखि नै नेपाल र इजरायलबीच श्रमिकका विषयमा छलफल भइरहेको छ । ९२ हजार श्रमिक भित्र्याउने इजरायलको योजनाबाट नेपालले पनि लाभ पाउन सक्ने जानकारहरू बताउँछन् । इजरायलमा काम गर्ने एक श्रमिकको मासिक तलब औसतमा १ लाख २५ हजारभन्दा माथि नै हुन्छ ।
३ प्रतिशतभन्दा कम कृषक भएको मुलुक भए पनि इजरायलले बाँकी ९७ प्रतिशतलाई पुर्याएर कृषि उपज अन्य देशलाई बिक्री गर्ने गरेको छ । इजरायलीहरूले आफ्नो खाना र आवश्यकताका ९५ प्रतिशत खाद्यान्न आफैं उत्पादन गर्छन् । खासगरी फूलको खेतीबाट इजरायलले बढी आम्दानी गर्छ । त्यहाँको २० प्रतिशत मात्र भूमि खेतीयोग्य छ । ८० प्रतिशत भूमि खेतीका लागि प्रतिकूल छ । इजरायलमा किबुज (सामूहिक खेती प्रणाली) र मोसव (व्यक्तिगत) भन्ने दुई किसिमका अग्रगामी उद्योग र कृषि समुदायको विकास भएको छ ।