Logo
१० पुस २०८१, बुधबार

भूकम्पबाट पीडित बाजुराका ५० परिवारको त्रिपालमा बास

अक्षरपाटी
२०८१ पुस ९ , मंगलबार ११:१२ मा प्रकाशित

धनगढी । शनिबार बिहान बाजुराको गोत्रीलाई केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १ सय ८ वटा घरमा पूर्ण क्षति र ४ सय ६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका छन् ।

भूकम्पले जगन्नाथ–५ दर्जीका ४६ घर पूर्ण क्षति र ८६ घरमा आंशिक क्षति भएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । ‘दर्जी टोलका ५० घर परिवार चिराचिरा परेकाले त्रिपालमुनि रात काटिरहेका छन्,’ जगन्नाथ–५ का वडाध्यक्ष गौरी सार्कीले भने, ‘ती घरमा बस्न सक्ने अवस्था छैन ।’ विस्थापित परिवारलाई रेडक्रसले उपलब्ध गराएका र गाउँघरकै त्रिपाल जुटाएर काम चलाएको वडाध्यक्ष सार्कीले बताए ।

जगन्नाथ–२ मा २४ घरमा पूर्ण क्षति र ९३ मा आंशिक क्षति, वडा ६ मा १८ घरमा पूर्ण क्षति भएको छ भने १ सय ४ घरमा आंशिक क्षति भएको पालिकाले जनाएको छ । यस्तै, वडा–४ मा १० घर पूर्ण रूपमा क्षति र एक सय २२ घरमा आंशिक क्षति भएको छ । वडा–३ मा १० घर पूर्ण र ४४ घर आंशिक क्षति भएको गाउँपालिका विपद् व्यवस्थापन शाखाले जनाएको छ । यस्तै २४ वटा विद्यालय, ११ स्वास्थ्य चौकी र ६ वटै वडा कार्यालय भवनमा पनि क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाभर भएको क्षतिको यकिन तथा तथ्यपरक विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताए ।