धनगढी । आफ्ना मन्त्रीलाई बर्खास्त गरिदिएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाको आकस्मिक बैठक बस्न लागेको हो।
अहिले बिहान संसदीय दलको कार्यालयमा बस्ने बैठकले सरकारबारे निर्णय गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।
‘मुख्यमन्त्रीले मन्त्रीलाई हटाएपछि हामीले बैठक आह्वान गर्न लागेका हौँ’ उनले भने, ‘सरकारबारे बैठकमा निर्णय हुन्छ।’
पार्टी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीले बिहीबार नै सङ्घ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरिसकेका छन्।
सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि सोही अनुसार तयारी गरेको छ। तर, पार्टी केन्द्रको पत्र भने अझै संसदीय दलमा पुगेको छैन।
‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी चल्छौँ’, उनले भने, ‘सरकारबाट फिर्ता हुने तयारी भइरहेको छ तर, केन्द्रको पत्र आएको छैन। उक्त पत्र आएपछि हामी समर्थन फिर्ता लिन्छौँ र प्रतिपक्षमा बस्छौँ।’
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ।
कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था भने छैन।
नागरिक उन्मुक्ति पार्टी रन्जिता श्रेष्ठ रेशम चाैधरी सुदूरपश्चिम प्रदेश