काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी दुरुपयोग भएको खुलेपछि सरकारले सरकारी गाडीको विवरण खोज्न थालेको छ।
श्रम मन्त्रालयको गाडी मन्त्री सम्बद्ध पार्टीका अध्यक्षकी छोरीले प्रयोग गर्ने गरेको भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक निकायका सवारीसाधनबारे चासो देखाएको हो।
प्रधानमन्त्री कार्यालयले आइतबार विभिन्न मन्त्रालय, आयोग, बोर्ड, समिति, निकाय तथा मातहतका कार्यालयमा रहेका सवारी साधनको विवरण संकलन गरी उपलब्ध गराउन मातहतका सबै मन्त्रालयलाई निर्देशन दिएको छ।
‘सवारी साधन दर्ता रहेको तथा हस्तान्तरण भई प्रयोगमा रहेका सबै सवारी साधनहरूको विवरण (दुई पांग्रे वा चार पांग्रे) प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम र पदसहित टेबुलको ढाँचामा तयार गरी उपलब्ध गराउन अनुरोध गरिन्छ,’ प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गरेको परिपत्रमा भनिएको छ।
गाडीको लस्करले के गर्दैछन् ऊर्जा मन्त्री ?
सार्वजनिक निकायका गाडीको दुरुपयोग गरिएको सार्वजनिक भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री दीपक खड्काले भने मातहतका एउटै निकायका दर्जनौं गाडी आफ्नो मन्त्रालयमा झिकाएको पाइएकको छ।
मन्त्री खड्काले नेपाल विद्यु्त प्राधिकरणबाट ल्याएर १० वटा गाडी आफ्नो मन्त्रालयमा राखेको पाइएको हो।
त्यसमध्ये पनि ४ वटा गाडी मन्त्रीको सचिवालयमा नै राखिएको विवरणबाट देखिन्छ। नेपाल विद्युत् प्राधिकरणले आन्तरिक प्रयोजनका लागि खरिद गरेका गाडीमध्ये १० वटा गाडी मन्त्रालयमा राखे मन्त्री खड्काले के गर्दै होलान ? शंकाको विषय बनेको छ।
खड्का तिनै मन्त्री हुन्, जसले नेपाल विद्युत् प्राधिकरणमा सुशासन नभएको भन्दै प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएका थिए।
यद्यपि कुलमानले प्राधिकरणका खरिदका काममा मनपरी गरेको आरोप भने लाग्दै आएको थियो।
प्राप्त विवरणअनुसार मन्त्री खड्काले प्रायः बा २० च ४१५ नम्बरको बीवाईडी ईभी चढ्ने गरेका छन्। मन्त्री खड्काले सोसहित ४ वटा गाडी आफ्नै सचिवालयमा राख्न लगाएका छन्।
सचिवालयमा प्राधिकरणकै प्रदेश ३–०१–००१ ञ ३३४० नम्बरको महिन्द्रा जीप छ। बागमति प्रदेश–०१–००१ ञ २६७५ नम्बरको टाटाको ईभी पनि मन्त्रीकै सचिवालयमा छ। त्यस्तै बा ११ च २५८५ नम्बरको टोयोटा जीप पनि मन्त्रीकै सचिवालयमा छ।
प्राधिकरणबाट मन्त्रालयमा झिकाएर बागमति प्रदेश –०१–२८ च ७४३५ नम्बरको बीवाईडी, बागमति प्रदेश –०१–००१ ञ २६६९ नम्बरको टाटा ईभी र बीएसी २८२२ इम्बोस्ड नम्बरको बीवाईडी ईभी छन्।
साथै बागमति प्रदेश ०१–०२९ च ५६४४ नम्बरको टोयोटा जीप र बा १३ च ५७९३ नम्बरको अर्को टोयोटा जीप पनि प्राधिकरणबाट ल्याएर मन्त्रालयमै राखिएका छन्।
त्यसमध्ये ऊर्जा सचिव सुरेश आचार्यले पनि प्राधिकरणको गाडी प्रयोग गर्ने गरेको मन्त्रालय स्रोतको भनाइ छ।
प्राधिकरणका करिब १ दर्जन गाडी मन्त्रालयमा झिकाएर मन्त्री खड्का र सचिव आचार्यले सार्वजनिक सवारीमा रजाइँ गरिरहेका मन्त्रालय स्रोतको भनाइ छ।
प्राधिकरणका गाडीमा मन्त्रीले मनपरी त गरिरहेकै छन्, तर कामको जिम्मेवारी पनि लिइरहेका छैनन्। मन्त्री खड्काले उनले कामको जिम्मेवारी नलिएको पछिल्लो उदाहरणका रुपमा आगामी आर्थिक वर्षको बजेटमा उनकै मन्त्रालयमातहतबाट परेको ‘टेक एण्ड पे’को व्यवस्थालाई लिन सकिन्छ।
आगामी आर्थिक वर्षको बजेटमा प्राधिकरणले आफूले लिएको बिजुलीको मात्रै पैसा तिर्ने व्यवस्था गरिएको छ।
यसअघि प्राधिकरणले निजी क्षेत्रले उत्पादन गरेको सबै बिजुली खरिद गर्दै आएकोमा बजेटमा परेको उक्त व्यवस्थाले अब निजी क्षेत्रले उत्पादन गरेको सबै बिजुली खरिद गर्ने नभई आफूलाई चाहिएको बिजुलीको मात्रै पैसा तिर्ने व्यवस्था गरिएको हो।
यसले निजी क्षेत्रले बिजुली उत्पादनमा अब लगानी गर्नै नसकिने अवस्था आएको बताएको छ। यस विषयमा बिजुली उत्पादकले कसरी बजेटमा उक्त व्यवस्था गरिएको भनेर मन्त्री खड्कालाई प्रश्न गरेका थिए।
तर, मन्त्री खड्काले बजेटमा कसरी उक्त व्यवस्था पर्यो आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए। यसले खड्का आफ्नो जिम्मवारीप्रति कति जिम्मेवार छन् ?
यद्यपि ऊर्जा उत्पादकहरुको निरन्तरको विरोधपछि पछिल्लो समय सो व्यवस्था सच्याइएको छ।
के गर्दै होलान् १० गाडीले मन्त्री र सचिव ? यस विषयमा प्रतिक्रिया लिन मन्त्री खड्का र सचिव आचार्यसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
मन्त्रीका स्वकीय सचिव भुपाल बस्नेतलाई पटकपटक सम्पर्क गर्दा पनि फोन उठाएनन्।
प्राधिकरणका कुनकुन गाडी कोसँग छन् ?