Logo
२६ भदौ २०८२, बिहीबार

कांग्रेस महामन्त्री थापाको जेन-जीलाई अपिल : संविधानभन्दा पर गएर समाधान नखोजियोस

अक्षरपाटी
२०८२ भदौ २६ , बिहीबार १२:०९ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुझबुझपूर्ण भिडियो सन्देश सार्वजनिक गरेका छन्।

महामन्त्री थापाले जेनजी आन्दोलनपछि विकसित घटनाक्रममा संविधानभन्दा बाहिर गएर समाधान नखोज्न अपिल गरेका छन्।

त्यसो गरिएमा केही समयमै हामीले सम्हाल्न नसक्ने अवस्था आउनेसक्ने चेतावनी समेत दिएका छन्। उनले संविधानको निरन्तरतामा ख्याल गर्न जेनजी पुस्तालाई विनम्र अपिल समेत गरेका छन्।

भिडियो वक्तव्यमार्फत उनले धारणा राख्दै आफू पनि तीन जना बुढा नेताभन्दा बाहिर राजनीति र देशको प्रशासनिक नेतृत्वका लागि लड्दै आएको स्मरण गराउँदै अब परिवर्तनका नाममा थप जोखिमको अवस्था आउन नदिन जेनजी पुस्तालाई सचेत रहन अपिल गरेका छन्।

उनले निकै संघर्ष र सकसले बनेको संविधान जोगाएर त्यसभित्रबाटै आवश्यक आमूल परिवर्तन गर्न आग्रह गरेका छन्।

भिडियो बक्तव्यमा उनले भनेका छन्, ‘२०६२र६३ को आन्दोलन भयो । संविधान बन्ने बाटो सजिलो थिएन। हामीले योबीचमा धेरै अवस्था पार गरेका छौँ। हामीले गृहयुद्ध भोग्यौं। ठूलो जातीय युद्ध भोग्यौं। नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर बनाएको संविधान हो यो। एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो। अहिले कोही बोलेको छैन। तर, आफ्ना अधिकारहरू खोसियो भन्ने पर्‍यो भने फेरि सबैले बोल्ने अवस्था आउँछ। कसैले सम्हाल्न सक्दैनौं हामीहरूले। त्यसैले संविधानको निरन्तरताबारे तपाईंहरूले ख्याल गर्नैपर्छ।’

उनले जेनजी आन्दोलनको क्रममा भएको हत्या र विध्वंशात्मक प्रदर्शनको छानबिन गरी दोषीमाथि कारबाही गर्न, बलियो कानुन निर्माण गरेर २०४६ यता सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्न सहमत हुँदै आग्रह गरेका छन्।

दोस्रो दिनको विध्वंशात्मक प्रदर्शनमा जेनजीको कुनै संलग्नता नरहेकोमा आफू स्पष्ट रहेको भन्दै महामन्त्री थापाले कतिपय नयाँ र कतिपय पुरानै अनुहारहरूको संलग्नता रहेको दाबी गरेका छन्।

उनले यो परिस्थिति आउनुमा प्रमुख रुपमा एमालेका केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा नै मुख्य रुपमा दोशी भएको घुमाउरो भाषामा ठोकुवा गरेका छन्।

https://www.facebook.com/thapagk/videos/1105875891633180

अपिल गगन थापा