o गणेश प्रसाद जाेशी
सफल जेन-जी आन्दोलन- चेतनाको पुनर्जागरण
नेपालले हालै एक ऐतिहासिक र अदभूत क्षण अनुभव गर्यो। सामाजिक चेतनाको उदयसहित जेन-जी आन्दोलन सफल भयो।
यो आन्दोलन केवल सडकमा उत्रिएको भीड मात्रै थिएन, विद्धमान व्यवस्थाप्रतिको चेतनशील पुस्ताले गरेकाे हस्तक्षेपकारी असन्तुष्टि थियाे।
एक आत्मसम्मान गुमाउँदै गरेको राष्ट्रप्रति युवाको संकल्प, समर्पण
र परम्परागत राजनीतिलाई चुनौती दिने नयाँ चेतको उद्घोष थियाे।
सबैभन्दा महत्त्वपूर्ण कुरा :
यो आन्दोलनले भत्कायो मात्रै होइन, बनाउने सपना पनि देखायो।
विध्वंस होइन, सृजनाको बाटो पनि काेरिदियाे।
नारा मात्रै होइन, असल नीयत बोकेको आन्दोलन सावित भयाे।
जसको आत्मा थियो ‘राष्ट्रिय पुनर्जागरण’।
तर प्रश्न उठ्छ-
के आन्दोलन मात्र पर्याप्त हो?
के सडकको जोश स्थायी परिवर्तनमा रूपान्तरित हुन्छ?
त्यसको सरल उत्तर छ :
यदि आन्दोलनको चेतनालाई विचारमा रूपान्तरित गर्न सक्याे भने पक्कै हुन्छ। यहि सन्देशलाई आत्मसात गर्दै अबको मार्ग- विचार र व्यवहार रूपान्तरणको हुनुपर्छ।
क) प्रेरणाविहीन समाज: चेतनाको अभाव
आजको नेपाली समाजमा समस्या केवल व्यवस्थापनको अभाव मात्र होइन, त्योभन्दा गम्भीर अभाव भनेकाे- चेतना र स्वभावको व्यवस्थापनको हो। हामीसँग अवसर छन्, खुला आकास, टेक्नोलोजी, मानव स्रोत-सबै सबै छ। तर, ती सबैबाट हामी प्रेरित हुन सक्दैनौं।
किनभने, हाम्रो सामूहिक चेतना र स्वभाव अझै पनि नकारात्मक, पूर्वाग्रह र निराशामा बाँधिएको छ। हामी परिवर्तन त चाहन्छाैँ, आफै बदलिन सकिरहेका छैनाैँ।
जुन राष्ट्रले भर्खरै जनचेतनाको ज्वालामुखी विस्फोट गर्यो, त्यो नै अब दिगो रूपान्तरणको यात्रामा लाग्नुपर्ने बेला आएको छ।
चेतना शून्य छ भने चरित्र निर्माण कसरी हुन्छ?
चिन्तन हराएको छ भने चैतन्य कहाँबाट आउँछ?
भित्र संसार रित्तिएको छ भने, बाहिरको समृद्धि कसरि टिकाउ हुन्छ?
ख) अभाव हैन, चेतना र स्वभावको संकट
हामी भन्छौं- हाम्रो देश गरिब छ, स्रोत छैन, साधन छैन, अवसर छैन।
तर सत्य यो हो कि- ‘अभावको पूर्ति सम्भव छ, तर चेतना र स्वभावको रूपान्तरण बिना समृद्धि सम्भव छैन।’
यदि हाम्रो सोच नकारात्मक छ भने, यदि हाम्रो स्वभाव इर्ष्या, घृणा, छलकपट र आत्मकेन्द्रितताले भरिएको छ भने-
त्यो समाजले दिगो विकास प्राप्त गर्न र दिन सक्दैन।
चेतना शून्य छ भने चरित्र निर्माण कसरी हुन्छ?
चिन्तन हराएको छ भने चैतन्य कहाँबाट आउँछ?
भित्र संसार रित्तिएको छ भने, बाहिरको समृद्धि कसरि टिकाउ हुन्छ?
ग) आध्यात्मिकता: विचारको जरोमा चेतना
श्रीकृष्णले गीता मा भन्नुभयो- ‘म हरेक प्राणीभित्र विराजमान छु।’
बुद्धले भन्नुभयो- ‘अप्पो दिपो भव:’ अर्थात आफैं आफ्नो उज्यालो बन्नु।
यी सन्देशहरूले हामीलाई सिकाउँछ- परिवर्तन बाहिर होइन, भित्रबाट सुरु हुन्छ।
नयाँ नेपालको सपना देख्न र हेर्नु अगाडि हामी हरेक आफैंले आत्मावलोकन गर्न आवश्यक छ।
आज हामीलाई सामाजिक क्रान्तिभन्दा पहिले चेतनाको क्रान्ति आवश्यक छ।
हामी कसरी सोच्छौं, कसरी व्यवहार गर्छौं र कसरी प्रतिक्रिया जनाउँछौं-
त्यसले राष्ट्रको मार्ग निर्धारण गर्छ। समाजकाे वेग तय गर्छ।
घ) वैज्ञानिक सोच र सामाजिक संस्कार
आज प्रविधिमा एक से एक विकास भइरहेको छ, तर हाम्रो सोच प्रविधिसँग समायोजन हुन सकिरहेकाे छैन। प्रविधि अगाडि हामी पछाडि भइरहेका छाैँ। हामी चुकिरहेका छाैँ।
हामी ‘एआई’ प्रयोग गर्छौं, तर हामीमा आत्मिक इमानदारी (Ethical Intelligence) हराउँदै छ।
हामी स्कूल पठाउँछौं, तर जीवन पाठशाला बिर्सिन्छौं।
हामी नियम बनाउँछौं, तर आफूलाई अपवाद ठान्छौं।
हाम्रो समाजमा आजकाे युगमा पनि ‘सानालाई ऐन, ठूलालाई चैन’ चलिरहेछ। जब समाजको संरचना नै अन्यायपूर्ण सोचमा आधारित हुन्छ, तब सुशासन केवल सपना मात्र बन्न जान्छ।
‘जो भत्काउन रमाउँछ, ऊ भोलिका दिनमा आफू भत्किन्छ।’
‘जो सिर्जनामा रमाउँछ, ऊ समाजको निर्माता बन्छ।’
ङ) सृजनात्मकता vs भत्काउने मनोवृत्ति
जेन-जी आन्दोलनजस्तै धेरै पवित्र आन्दोलनहरू पनि कहिलेकाहीँ गलत सोच भएका तत्वहरूद्वारा तुहाइन्छन्, भत्काइन्छन्।
त्यो बेला आन्दोलनको मूल मर्म हराउँछ र भत्काउने संस्कृति हावी हुन्छ।
सृजनात्मक उद्देश्य लिएर सुरु गरिएको आन्दोलन यदि नकारात्मक सोचले संक्रमित भयो भने, त्यो विध्वंसमा रूपान्तरित हुन्छ।
त्यसैले, चेतनाको सुरक्षा गर्नु आन्दोलनको आत्मा जोगाउनु हो।
‘जो भत्काउन रमाउँछ, ऊ भोलिका दिनमा आफू भत्किन्छ।’
‘जो सिर्जनामा रमाउँछ, ऊ समाजको निर्माता बन्छ।’
च) समृद्धिको सही बाटो: सोच परिवर्तन
हामी आर्थिक विकास चाहन्छौं, तर:
• आचरणबिना त्यो अर्थशास्त्र अधुरो हुन्छ।
• अनुशासनबिना सुशासन सम्भव हुँदैन।
• सकारात्मक सोचबिना दीर्घकालीन सफलता हासिल हुँदैन।
ढाेङ, छलकपट, षडयन्त्र र निष्ठाविहीन चलाकीले क्षणिक सफलता दिन सक्छ, तर दिगो सफलता, मानवीय मूल्य र राष्ट्र गौरव त केवल सच्चा स्वभाव, सृजनात्मक सोच र समर्पण भावबाट मात्र सम्भव हुन्छ।
छ) नव नेपाल : हामी सबैको साझा प्रतिबद्धता
अब हामीले बुझ्नुपर्छ- देशको रूपान्तरण केवल शासन प्रणालीले गर्दैन।
त्यो हाम्रो सोच, संस्कार, स्वभाव, सहृदयता, शुभेच्छा, सकारात्मकता र सृजनशीलताको संस्कृतिबाट मात्र सम्भव हुन्छ।
‘जस्तो दृष्टि, उस्तै सृष्टि।’
‘हामी भित्र चेतना आएपछि मात्र बाहिरी विकास सम्भव हुन्छ।’
निष्कर्ष:
विचारमा रूपान्तरण- नव नेपालको मेरुदण्ड
हामीले ‘नयाँ नेपाल’ को नारा अनेकपटक सुनेका छौं।
तर अब आवश्यक छ-
‘नयाँ नेपाली’ बन्ने संकल्प।
हामी सबैले हाम्रो भित्रको चेतनालाई झकझक्याउनु पर्छ, उजागर गर्नुपर्छ। हामी सबै सृजनाको वाहक, चरित्रको संरक्षक र सत्यको सहयात्री बन्नुपर्छ।
आजको यो सफल जनजागरण जेन-जी आन्दोलनले हामीलाई यो देखाउँछ कि
‘जनताको चेतना उठ्न थालेको छ, अब यो चेतना विचार, आचरण र संस्कारमा रूपान्तरण हुनुपर्छ।’
त्यसाे भएमा त्यो दिन टाढा हुनेछैन- जब हाम्रो राष्ट्र केवल ‘राजनीतिक परिवर्तन भएको देश’ मात्र नभई -विचारले सुसज्जित, चेतनाले समृद्ध र चरित्रले गौरवशाली राष्ट्रका रुपमा हाेस।
नव नेपालको पृष्ठभूमिमा जीवन अर्पण गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली।
मंगलम् सव्व भवतु।