



काठमाडौं। हालसम्म नेपालमा खाना पकाउने एलपीजी ग्यासको अभाव नभएको दावी गर्दै आएकाे नेपाल आयल निगमको यथार्थ बाहिरिएको छ।
केही दिन अघिसम्म पनि भारतबाट नियमितभन्दा बढी नै ग्यास भित्रिएको दावी गरे पनि निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले नेपालसँग ६ दिनलाई पुग्ने मात्र ग्यास भएको स्वीकारेका छन्।
आइतबार एक टिभीको अन्तर्वार्तामा बाेल्दै उनले ६ दिनलाई पुग्ने ग्यास मात्र नेपालसँग भण्डारण रहेको बताएका हुन्। उनले पेट्रोल १२ दिनलाई पुग्ने भण्डारण भएको बताएका छन्।
केही समयअघिसम्म उपभाेक्ताले आवश्यकभन्दा बढी जाेहो गरेकाले अभाव देखिएकाे दावी गर्दै आएको निगमले ढिलोगरी सत्य बाहिर ल्याएको हो।
यद्यपि उनले ग्यासको अभाव नभएको र लाइन नभएको बताए पनि काठमाडाैंका विभिन्न वितरकहरुले हप्ता, दश दिनसम्म पनि ग्यास नभएको जवाफ दिन थालेपछि उपभोक्ताहरुले भाैतारिनुपर्ने अवस्था छ। निगम आफैले पनि अभावलाई कम गर्न आधा सिलिन्डर वितरण गर्न थालेको २ साता भइसकेको छ।
टिभी साेमा उनले एलपीजी ग्यासको भण्डार निकै कम भएकाले उपभोक्तालाई विकल्पमा जान सुझाएका छन्। उनले अवस्थासँग सामना गर्न तयार रहन आग्रह गर्दं विद्युतीय वा अन्य वैकल्पिक ऊर्जातिर जानुपर्ने बताए।
आपूर्ति व्यवस्था सहज बनाउनकै लागि केही दिनदेखि आधा सिलिन्डर वितरण गरिएको स्वीकार्दै उनले इरान र अमेरिका-इजरायल युद्ध नरोकिएमा परिस्थिति झनै जटिल बन्ने बताए।
बजारमा पेट्रोल र डिजेलको मूल्य एकैपटक १५ रपैयाँसम्म बढाएको निगमले अझै अत्यधिक मूल्य बढ्नसक्ने चेतावनी दिएको छ।
युद्धका कारण तेलको मूल्य धेरै बढेर आएकाे सुनाउँदै भट्टले निगमले प्रतिमहिना ८ अर्ब नोक्सानी बेहोरिइरहेको र मूल्यवृद्धिको विकल्प नभएको बताए।
बजारमा ग्यासको बिकल्प विद्युतीय चुलाेको समेत अभाव सिर्जना भएको छ। इन्डक्सन र इन्फारेट चुलाे पाउनै मुस्किल भइसकेकाे उपभाेक्ताहरु बताउँछन्।




