Logo
१८ वैशाख २०८३, शुक्रबार

नेपाल मेडिसिटी र ट्रक यातायात व्यवसायी महासंघबीच सम्झाैतालाई निरन्तरता

अक्षरपाटी
२०८२ चैत्र १० , मंगलबार ०६:०३ मा प्रकाशित

काठमाडौं । भैंसेपाटीस्थित नेपाल मेडिसिटी र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच यसअघिको सम्झाैतालाई निरन्तरता दिइएको छ।

मेडिसिटी र महासंघबीच यसअघिदेखि भइरहेको उपचार सेवा सम्बन्धी सहकार्यलाई पुनः निरन्तरता दिने गरी नयाँ सम्झौता गरिएको हो।

नवीकरण भएको सम्झौताअनुसार महासंघअन्तर्गत आवद्ध संघ–समितिबाट पठाइने बिरामीलाई मेडिसिटीले प्राथमिकताका साथ उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउनेछ।

आकस्मिक अवस्थामा बिरामी आउनुअघि अस्पताललाई जानकारी दिनुपर्ने र अधिकतम ४८ घण्टाभित्र आधिकारिक पत्र पठाउनुपर्ने व्यवस्था सम्झाैतामा उल्लेख गरिएको छ।

बिरामीको अवस्थाअनुसार अस्पतालले अनुमानित उपचार खर्चको विवरण उपलब्ध गराउनेछ भने आवश्यकताअनुसार त्यसमा परिमार्जन गरिनेछ।

दुर्घटनामा परेका बिरामीलाई चिकित्सकको सल्लाहअनुसार सामान्य वार्डमा प्राथमिकता दिइनेछ भने क्याबिन सेवा आवश्यक परे लिखित अनुरोध अनिवार्य गरिएको छ।

उपचारसम्बन्धी जानकारी लिन महासंघका प्रतिनिधिलाई सम्बन्धित चिकित्सकसँग भेट गराई जानकारी दिने व्यवस्था पनि रहेको छ।

भुक्तानी व्यवस्थातर्फ, प्रति बिरामी १० लाख रुपैयाँसम्मको उपचार खर्च क्रेडिटमा डिस्चार्ज गर्न सकिने र सोभन्दा बढी खर्च भए उपचारकै क्रममा अग्रिम रकम जम्मा गर्नुपर्ने प्रावधान यथावत् राखिएको छ। डिस्चार्जपछि बाँकी रकम ३० दिनभित्र चुक्ता गर्नुपर्नेछ।

सम्झौतामा छुट सुविधालाई समेत निरन्तरता दिइएको छ। महासंघसँग आवद्ध सदस्य, कर्मचारी तथा तिनका परिवारलाई अस्पतालका सेवामा अधिकतम १० प्रतिशतसम्म छुट दिइनेछ।

दुर्घटनामा घाइते बिरामीको हकमा उपचार खर्चअनुसार १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। औषधि, इम्प्लान्ट तथा बाह्य सेवामा भने छुट लागू नहुने जनाइएको छ।

त्यस्तै, एक वर्षभित्र दुई करोड रुपैयाँभन्दा बढी कारोबार भई पूर्ण भुक्तानी भएको अवस्थामा आगामी वर्षहरूमा ‘इन्फेक्सन कन्ट्रोल चार्ज’मा ५० प्रतिशतसम्म अतिरिक्त छुट दिने प्रावधान पनि यथावत् राखिएको छ।

नेपाल ट्रक यातायात व्यवसायी नेपाल मेडिसिटी