



काठमाडौं । कम्बोडियामा अलपत्र परेका ४६ जना नेपालीको उद्धार गरिएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासले ३० चैत र १ वैशाखमा उद्धार गरिएका उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ।
राजदूतावासका अनुसार प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका नेपालीलाई अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत ठगी कार्य तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो। साथै, धेरैजसो नेपाली बिनाभिसा वा भिसाको म्याद सकिएपछि पनि त्यहाँ बसिरहेका थिए।
राजदूतावासले कम्बोडियामा अझै अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्तीका लागि आवश्यक पहल भइरहेको जनाएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा नेपालीको आवागमन उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ। सन् २०२१ मा १०१ जना नेपाली त्यहाँ पुगेका थिए भने सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका छन्।
कम्बोडिया नेपालीको उद्धार



