



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पहिलो चरणमा २० जनालाई लालपूर्जा प्रदान गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।
गाउँपालिकाबाट प्रमाणीकरण भएका ५९ जना भूमिहीन सुकुम्बासीमध्ये प्रारम्भिक चरणमा २० जनालाई समेटेर वितरणको काम अगाडि बढाइएको हो।
आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि लालपूर्जा हस्तान्तरण गरिनेछ। जग्गा उपलब्ध गराउने तयारीसँगै सम्बन्धित क्षेत्रमा हकदाबी पेश गर्न सात दिनको सार्वजनिक सूचना जारी गरिएको छ।
स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित तथा सुकुम्बासीका लागि नापजाँच गरिएको जग्गा पहिचान गरिएको हो । प्रकाशित सूचनामा लाभग्राहीको नामसहित जग्गाको विवरण सार्वजनिक गरिएको छ। अब प्राप्त दाबीका आधारमा तीनपुस्ते विवरण सङ्कलन गरी मालपोत कार्यालयमार्फत उनीहरूको अन्यत्र जग्गा स्वामित्व नभएको सुनिश्चित गरिनेछ।
यी सबै प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित लाभग्राहीलाई लालपूर्जा वितरण गरिने आयोगले जनाएको छ। पञ्चेश्वर गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी व्यवस्थापनमा सक्रियता देखिएको छ।
तर जिल्लाका अन्य स्थानीय तहमा प्रमाणीकरणको काम अघि नबढ्दा यस्तो प्रक्रिया सुरु हुन सकेको छैन। हाल पञ्चेश्वरमा ५९ भूमिहीन परिवार र करिब चार सय अव्यवस्थित बसोवासी रहेका छन्।




