Logo
२८ वैशाख २०८३, सोमबार

टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, आपतकालिन ढोका खोलेर यात्रुको उद्धार

अक्षरपाटी
२०८३ वैशाख २८ , सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानको पाङ्ग्रामा आगो देखिएको छ। आज बिहान विमानको पाङ्ग्रामा आगो देखिएपछि केहीबेर त्रासको वातावरण बनेको थियो।

बिहान करिब ७ बजे इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा पाङ्ग्रामा आगो लागेको विमानस्थल स्रोतले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको थियो। जसका कारण पाङ्ग्राबाट आगो देखिएको बताइएको छ।

घटनालगत्तै विमानस्थलको आपतकालीन उद्धार टोली र दमकल परिचालन गरिएको थियो। दमकलको सहायताले आगो तत्काल निभाएर सबै यात्रुको सकुशल उद्धार गरिएको थियो। विमानमा चार बच्चासहित २७७ यात्रु थिए । उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ। विमानमा सामानहरु र केही शव पनि रहेको छ।

यात्रुहरुलाई आपतकालिन ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएकाले कुनै मानवीय क्षतिको नभएको बताइएको छ।

घटनापछि सुरक्षाका लागि केही समय विमानस्थलका सबै उडान तथा अवतरण सेवा प्रभावित भएको जनाइएको छ। विमानको प्राविधिक अवस्था र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

टर्किस एयरलाइन्स