



बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्थाबिना वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाइएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा विशाल प्रदर्शन गरेका छन्।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा सहभागीहरू बुटवल पुगेका थिए। आयोजकका अनुसार प्रदर्शनमा ३० हजारभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएका छन्।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत हुने समितिले जनाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउने कार्य तत्काल रोक्न माग गरेका छन्।
प्रदर्शनमा रुपन्देहीसहित भूमिहीन तथा अव्यवस्थित बसोबासीको उल्लेख्य बसोबास रहेका २२ भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व भएको संघर्ष समितिले जनाएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले सरकारले पुनःस्थापनाको स्पष्ट योजना नबनाई बस्तीमा डोजर चलाउँदा देशभरका १२ लाखभन्दा बढी परिवार प्रभावित भएको दाबी गरे। उनका अनुसार यस्तो कार्यले लाखौं नागरिक मानसिक तनाव र असुरक्षाको अवस्थामा पुगेका छन्।
प्रदर्शनपछि आयोजित सभालाई सातै प्रदेशका भूमिहीन तथा अव्यवस्थित बसोबासी अगुवाहरूले सम्बोधन गर्ने छन् । उनीहरूले भूमि समस्या समाधानका लागि दीर्घकालीन नीति, सुरक्षित आवास र वैकल्पिक व्यवस्थाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।
संघर्ष समितिका सचिव रामचन्द्र भट्टराईका अनुसार ४ जेठमा बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। सम्मेलनमा विज्ञ, सरोकारवाला तथा सातै प्रदेशका प्रतिनिधिहरूको सहभागितामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका उपायबारे छलफल गरिने उनले बताए।
उनका अनुसार सम्मेलनले राष्ट्रिय स्तरको संघर्ष समिति गठन गर्ने तथा सरकार र प्रमुख राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गर्नेछ।
संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन्।




